झण्डै ४ महिनादेखि पूर्णरुपमा बन्द रहेको ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेड पुनः सञ्चालनको तयारीमा छ । ५३ ग्रेडको गैँडाछाप ओपिसी सिमेन्ट उद्योग मर्मत सम्भारपछि पुनः सञ्चालन गर्न लागिएको हो ।
उद्योगका निमित्त महाप्रबन्धक (जिएम) महेश साहले मन्त्रालयबाट प्राप्त मर्मत सम्भार शीर्षककै बजेटबाट आन्तरिक ऋण लिएर उद्योगलाई पुनः सञ्चालन गर्न लागेको बताए । उनका अनुसार तत्कालीन पुष्पकमल दाहाल नेतृत्व सरकारले एक वर्षअघि अर्थात ०८० चैतमा उद्योगको मेसिन उपकरण मर्मत सम्भार प्रयोगका लागि १६ करोड रकम निकासा लिएको थियो । सोमध्ये मेटालिक चेन मर्मत र अदालतको आदेशबाट सप्लायर्सको बक्यौता भुक्तानी गरेर ११ करोड बाँकी रहेको रकमबाटै ५ करोड आन्तरिक ऋण लिएर उद्योग पुनः सञ्चालन गर्न लागेको साहले बताए ।
उद्योग मर्मत गर्ने प्रयोजनका लागि सरकारले दिएको रकम २ महिनाअघि काठमाडौँ जिल्ला अदालतको आदेशमा झण्डै १ करोड रकम रौता सर्भिसेज प्रालिको बक्यौता भुक्तानी भएको थियो । अदालतले ०८१ माघ २२ गतेको मितिमा उद्योगको ग्लोबल बैँक शाखा गाईघाटलाई पत्राचार गरी उद्योगको नाममा रहेको खाता नं. ०२२११०००००३९ बाट ९६ लाख ९२ हजार ५ सय ५२ रुपैँया ३० पैसा रकम तानेर रौता सर्भिसेजलाई भुक्तानी गरेको जिएम साहले बताए ।
मर्मत सम्भारको रकम अदालतले नै बक्यौता भुक्तानी गरेपछि बाँकी रकम पनि अन्य बक्यौता भुक्तानीमै सकिने सम्भावना रहेको तर, उद्योग बन्दको बन्द राख्दा दिनहुँ आर्थिक भार बढ्ने जोखिम टार्न उद्योग सञ्चालन गर्नु व्यवस्थापनले उचित ठानेको हो । अदालतले रौता सर्भिसेजलाई भुक्तानी गरेको थाहा पाएपछि अन्य पाटीले पनि भुक्तानी पाउँ भन्दै अदालत गुहारेर ३–४ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको साहले बताए । आउँदो फैसलाले बाँकी ११ करोड पनि बक्यौता तिर्नमै खर्च भएपछि उद्योग बन्द रहे पनि मर्मत गर्ने बजेट सकिने देखिएको उनी बताउँछन् ।
‘सरकारले मर्मत शीर्षकमा दिएको १६ करोड कतै नचलाई मेसिन उपकरण मर्मतमै लगाइरहेका थियौँ’ जिएम साहले भने ‘तर, एक्कासि अदालतले फ्याट्ट पार्टीको बक्यौता भुक्तानी गर्ने आदेश दिएर १ करोड गइहाल्यो । बाँकी ११ करोड पनि भुक्तानी पाउन दाबी गर्दै मुद्दा परेर विचाराधीन छन् । अव आउने फैसलाले सो पैसा पनि बक्यौता भुक्तानीमै गयो भने एकातिर उद्योग बन्दको बन्दै रहन्छ, अर्कातिर मर्मत गर्ने पैसा पनि सकिन्छ ।’
हाल कोइलाको बक्यौता १० करोड र जिप्समको ५८ लाख भुक्तानी दिन भन्दै १५ दिनको म्याद दाबी अदालतबाट पत्र आएको साहले बताए । यति भुक्तानी दिए मर्मत गर्ने सबै पैसा सकिने भएकाले व्यवस्थापनले बैठक राखेर तत्काल उद्योग सञ्चालन गर्ने निर्णयमा पुगेको उनले बताए । साहका अनुसार ११ करोडमध्ये ४ करोड आन्तरिक ऋण लिएर कच्चा पदार्थको व्यवस्था गरी उद्योग सञ्चालन गर्न लागिएको हो । जसका लाग राष्ट्रिय वाणिज्य बैँकमा रहेको ५ करोड मुद्दती रसिद धितो राखेर ४ करोड ऋण लिई कच्चा पदार्थ खरिद गर्ने निर्णय भएको छ ।
सो ऋण उद्योग सञ्चालनपश्चात् उत्पादित सिमेन्ट बिक्री वितरणबाट आएको रकम पुनः राष्ट्रिय वाणिज्य बैकको ऋण तिर्ने शर्तनामा छ । ऋणबापत लिएको ४ करोड रकमबाट १ हजार ५ सय मेट्रिक टन कोइला, २ सय ५० मेट्रिक टन जिप्सम, २० किलाेलिटर डिजल र १ लाख थान बोरा खरिद गर्ने तथा नेपाल विद्युत् प्राधिकरणलाई २५ लाख भुक्तानी भईसकेको छ । यसरी आउँदो वैशाख ५ गते फाईरिङ गर्ने गरी अहिले उद्योगको मर्मत कार्य धमाधम भइरहेको जिएम साहले बताएका छन् ।
उद्योगलाई हाल झण्डै २ अर्ब दायित्व रहेको छ । अवकाश प्राप्त १ सय ९ जना कर्मचारीको निवृत्तिभरण (उपदान)बापत ६४ करोड १० लाख ८४ हजार ९ सय ३७ रुपैँया भुक्तानी गर्न बाँकी छ । हरेक महिना ५ देखि १० जनासम्म कर्मचारी अवकाश लिने क्रममा रहेकाले थप दायित्व बढ्ने निश्चित छ । हाल कार्यरत २ सय ३० स्थायी कर्मचारी तथा ५५ जना ज्यालादारी सुरक्षाकर्मीले गएको कात्तिकदेखि तलब भत्ता पाएका छैनन् । उनीहरूको २ वर्षयता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा जम्मा गर्नुपर्ने रकम पनि बाँकी छ ।
विभिन्न ११ वटा सप्लायर्सको कोइला तथा अन्य कच्चा पदार्थ आपूर्ति गरेको बक्यौता ४७ करोड ८३ लाख ७१ हजार ३७ रुपैँया बाँकी छ । विद्युत् प्राधिकरणको १७ करोड बढी बक्यौता छ । यो डेडिकेटेड फिडरभन्दा बाहेकको तिर्न बाँकी रकम हो ।
जिएम साहका अनुसार दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमताको उद्योगले चालु वर्ष १० प्रतिशत मात्र उत्पादन गरेको छ । साउनदेखि मङ्सिरसम्म मोटामोटी १ महिना हाराहारी चलेको उद्योगले उत्पादन गरेको १ लाख ६० हजार बोरा सिमेन्ट विक्री गरेको छ । गत आर्थिक वर्ष १९ प्रतिशत अर्थात साढे ३ लाख बोरा सिमेन्ट उत्पादन र बिक्री गरेको साहले बताए । जब कि आर्थिक वर्ष ०७९–०८० मा क्षमताको ३९ प्रतिशत सिमेन्ट उत्पादन भएको थियो ।
गैँडा छाप सिमेन्ट उत्पादन हुन छाडेपछि निजी कम्पनीका सिमेन्टको मूल्य वृद्धि मनपरी भइरहेको छ । गैँडाको मूल्य प्रतिबोरा (५० किलो) ७ सय ५२ रुपैँया तोकिएको छ भने निजी सिमेन्ट मारुती, सौर्य, होङ्सी, शिखर आदी सिमेन्ट प्रतिबोरा ८ सय २० रुपैँयामा बिक्री वितरण भइरहेको छ । उसिउलि बन्द हुँदा आम उपभोक्ता गुणस्तरमा कमजोर तर, मूल्यमा महँगो सिमेन्ट प्रयोग गर्नुपर्दा दोहोरो मारमा पर्नु परेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइली बताउँछन् ।
प्रकाशित: २९ चैत्र २०८१ १६:४४ शुक्रबार