उदयपुर र खोटाङ जोड्ने सुन नदीस्थित बन्शीलाघाट मोटरेबल पक्की पुल निर्माणको काम झण्डै चार वर्षको ढिलाइपछि बल्ल सुरु भएको छ। ३३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भई सुरु भएको पुल निर्माणको काम लामो समयसम्म रोकिँदा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको थियो।
निर्माणस्थलसम्म जाने कच्ची सडक साँघुरो भएकाले उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न नसक्दा ठेकेदार कम्पनीले सुरु गरेको काम छोडेर हिँडेको थियो। तर, अहिले सडक मर्मतपछि आवश्यक उपकरण तथा सामग्री पुर्याएर निर्माण कार्य पुनः सुरु गरिएको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१ र खोटाङको बाराहापोखरी गाउँपालिका–६ जोड्ने बन्शीलाघाट नाका खोटाङको दक्षिणपूर्वी भेगलाई उदयपुरको बेलटार हुँदै तराईसँग जोड्ने प्रमुख मार्ग हो।
दैनिक सयौं सर्वसाधारण आउजाउ गर्ने सो नाकामा ४० वर्षअघि निर्माण गरिएको झोलुङ्गे पुल गत असोज १२ गतेको बाढीले बगाएपछि स्थानीयहरूले अस्थायी रूपमा काठ र बाँसको पुल बनाएर आवागमन सहज बनाएका थिए। तर, कमजोर संरचनाका कारण कुनै पनि बेला फेरि भत्कने जोखिम भएकाले स्थायी पुल छिटो सम्पन्न गर्नुपर्ने उनीहरूको माग छ।
सप्तरीको फत्तेपुर हुँदै उदयपुरको बेलटार बजार भएर खोटाङतर्फ चिसापानी हुँदै दिक्तेल जोड्ने यो नाका खोटाङ, भोजपुर, उदयपुर मात्र नभई सप्तरी, सुनसरी, मोरङलगायत तराईका जिल्लासँग सिधा आवागमन गर्ने महत्त्वपूर्ण मार्ग हो।
खोटाङको बाराहापोखरी, साकेला, जन्तेढुङ्गा, खोटेहाङ र भोजपुरका बासिन्दाले समेत आवतजावत गर्ने भएकाले बन्शीलाघाट पुलको निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने स्थानीय बताउँछन्।
प्रदेश सांसद राजन किरातीले बन्शीलाघाट पुललाई आवश्यक महत्त्व नदिइएकोप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
उनले पुल निर्माण कार्यमा चरम ढिलाइ भएको भन्दै प्रमुख ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले साझेदार (जेभी) कम्पनीलाई जिम्मा दिएर पन्छिन खोजेको आरोप लगाए।
‘यो पुल केवल उदयपुर र खोटाङका लागि मात्रै होइन, तराईका विभिन्न जिल्लासँग सोझो जोड्ने महत्वपूर्ण परियोजना हो। त्यसैले छिटो सक्न दबाब दिइरहेका छौं,’ सांसद किरातीले भने।
सम्झौता भएको ४ वर्ष बित्दा १० प्रतिशत मात्रै प्रगति
पुल निर्माणका लागि २०७७ पुस २८ गते सम्झौता भई २ वर्ष ९ महिनाभित्र अर्थात् २०८० असोज २७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, एमएस/कालिका/बेदान्सी जेभीले कामको डिजाइन र लागत अनुमानसमेत आफैं गर्नुपर्ने भएपछि २ वर्षभन्दा बढी समय अल्झिएको निर्माण पक्षले जनाएको छ।
निर्माण कम्पनीले सडक साँघुरो भएका कारण सामग्री ढुवानी गर्न नसकिएको दाबी गर्दै आएको छ। यही कारण पहिलो चरणमा असार मसान्तसम्मका लागि म्याद थपिएको छ। तर, अबको पाँच महिनामै पुल निर्माण सकिने सम्भावना न्यून देखिन्छ। निर्माण कम्पनीका प्रतिनिधि किरण श्रेष्ठका अनुसार ‘निर्बाध रूपमा काम भए पनि कम्तीमा दुई वर्ष लाग्ने’ बताइएको छ।
स्थानीय तहको ध्यानाकर्षण, पुल सम्पन्न गर्न दबाब
बेलटार–बन्शीलाघाट सडक साँघुरो भएकाले निर्माण सामग्री ढुवानीमा समस्या भइरहेको निर्माण कम्पनीको दाबी छ। गत वर्ष ठेकेदार कम्पनीले एक्स्काभेटर प्रयोग गरी सडक केही चौडा बनाएर काम थालेको थियो भने यस वर्ष पनि सुधार गरेर मात्र निर्माण सामग्री पुर्याइएको जनाएको छ।
चौदण्डीगढीका पूर्व नगरप्रमुख खगेन्द्र राईले पुल निर्माणको योजना २०७५ मै तय भएको भए पनि सम्झौता भएको चार वर्ष बित्दा १० प्रतिशत मात्र काम भएकोप्रति असन्तोष व्यक्त गरे।
१ सय ५० मिटर लामो र ११ मिटर चौडाइको यो पुल मूल्य अभिवृद्धि कर (भ्याट)सहित १९ करोड १८ लाख ४१ हजार रुपैयाँ लागतमा निर्माण गरिँदैछ। पुल सेक्टर कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर आविष्कार तिम्सिनाका अनुसार काम ढिलाइ भएको स्वीकार्दै छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिएको छ।
प्रकाशित: १९ फाल्गुन २०८१ २०:४३ सोमबार