प्रवास

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, पहिचान खुल्न बाँकी

फाइल तस्बिर

युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। दुर्घटनामा ४६ र ५६ वर्षीय दुई नेपालीको घटनास्थलमै ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर उत्तर–पूर्वमा रहेको बाकाउ सहरको चिमीई रेलमार्ग खण्डमा स्थानीय समयअनुसार बिहान ३:२१ बजे भएको बताइएको छ। रेलले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। यद्यपि, मृतकहरूको आधिकारिक परिचय भने अझै सार्वजनिक गरिएको छैन।

रोमानियाको बाकाउ आपत्कालीन अवस्था निरीक्षणालय (ISU Bacău) का अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा दमकल, हेभी रेस्क्यु टोली, मोबाइल सघन उपचार (SMURD) इकाइ तथा प्राथमिक उपचारसहितको एम्बुलेन्स परिचालन गरिएको थियो। चिकित्सकीय टोलीले परीक्षणपछि उनीहरूको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको थियो। बाकाउ आपत्कालीन अवस्था निरीक्षणालयले जारी गरेको विज्ञप्तिमा रेलको ठक्करबाट घाइते भएका दुई व्यक्तिलाई घटनास्थलमै मृत घोषित गरिएको उल्लेख गरिएको छ।

रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरेको छ। दूतावासका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले घटनापछि आवश्यक समन्वय प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार स्थानीय निकायसँग सम्पर्क गरी मृतकहरूको पहिचान, कानुनी प्रक्रिया तथा आवश्यक कूटनीतिक सहयोगका लागि पहल भइरहेको छ।

नेपालको रोमानियामा आफ्नै दूतावास वा कूटनीतिक नियोग नभएकाले त्यहाँ रहेका नेपाली नागरिकसम्बन्धी सेवा बर्लिनस्थित नेपाली राजदूतावासमार्फत प्रदान हुँदै आएको छ। बर्लिन र रोमानियाबीचको दूरी करिब दुई हजार किलोमिटर रहे पनि दूतावासले आवश्यक समन्वयलाई तीव्र बनाएको जनाएको छ।

रोजगारीका लागि पछिल्ला वर्षहरूमा ठूलो संख्यामा नेपालीहरू रोमानिया पुगिरहेका छन्। विभिन्न तथ्यांकअनुसार हाल त्यहाँ करिब ५० हजार नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ। यस घटनापछि मृतकहरूको पहिचान खुलाउने, परिवारलाई जानकारी गराउने तथा शव स्वदेश फिर्ता गर्ने प्रक्रियाबारे दूतावासले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

घटनापछि रोमानियाली प्रहरी र रेल्वे सम्बन्धी निकायले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका छन्। दुवै व्यक्ति कसरी रेलमार्गमा पुगे, दुर्घटना किन र कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। 

प्रकाशित: १८ श्रावण २०८३ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App