प्रवास

युएईमा इरानी मिसाइलको भग्नावशेष खस्दा सात नेपालीसहित १२ घाइते, एकको अवस्था गम्भीर

फाइल तस्बिर

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा इरानी मिसाइल तथा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गर्दा खसेको भग्नावशेषका कारण सात नेपालीसहित १२ जना घाइते भएका छन्।

अबुधाबीको अजबान क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र मानवरहित हवाई वाहन (ड्रोन) लाई बिचैमा नष्ट गरेको थियो। सो क्रममा आकाशबाट खसेको भग्नावशेषका कारण १२ जना घाइते भएको अबुधाबी मिडिया अफिसले शुक्रबार जानकारी दिएको छ।

गल्फ न्यूज र अबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये एक नेपाली नागरिक गम्भीर घाइते भएका छन्। अन्य छ जना नेपाली र पाँच जना भारतीय नागरिक सामान्य तथा मध्यम घाइते भएका छन्। कुल सात नेपाली घाइते भएका थिए।

हवाई खतरालाई सफलतापूर्वक रोकेपछि युएईका केही भागमा भग्नावशेष खसेका कारण यो क्षति भएको बताइएको छ। अबुधाबीका अधिकारीहरूले आपतकालीन टोली परिचालन गरी प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूलाई तत्काल चिकित्सा सहायता प्रदान गरेको जनाएका छन्।

युएई रक्षा मन्त्रालयले हवाई रक्षा प्रणालीले मिसाइल र ड्रोनको खतरालाई निषेध गरेको पुष्टि गरेको छ। रक्षा अभियानका क्रममा केही क्षेत्रमा ठूलो आवाज सुनिएको मन्त्रालयले बताएको छ।

प्रकाशित: २१ चैत्र २०८२ ०८:०५ शनिबार