प्रवास

सरकारको समेत लगानी रहने एनआरएन १० अर्ब फण्डको लगानीको लागि बाटो खुल्यो

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत सञ्चालित एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले प्रस्ताव गरेको १० अर्ब रुपैयाँ बराबरको लगानी परियोजना छिट्टै कार्यान्वयनमा आउने भएको छ।

फण्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराईका अनुसार मंगलबार सरकारले आवश्यक कानूनी तथा प्रक्रियागत स्वीकृति पूरा गरेपछि सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने बाटो खुलेको हो।

“हामी कानूनी र प्रक्रियागत रूपमा पूर्ण तयारी अवस्थामा थियौं,” भट्टराईले भने, “१० अर्ब रुपैयाँको लगानीमध्ये ८५ प्रतिशत शेयर विदेशमा रहेका नेपालीहरूलाई आईपीओमार्फत वितरण गर्ने प्रस्ताव गरिएको थियो। यसअघि ५१ प्रतिशतसम्म मात्र स्वीकृति प्राप्त भएकामा सरकारले अहिले ८५ प्रतिशत शेयर आईपीओमार्फत वितरण गर्न स्वीकृति दिएको छ।”

उनका अनुसार सरकारको पछिल्लो निर्णयसँगै फण्डको आईपीओ निष्कासन तथा लगानी परियोजना अघि बढाउन देखिएको कानूनी समस्या समाधान भएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माले हालै आयोजित एनआरएनए युरोप क्षेत्रीय सम्मेलनमा एनआरएनए नेपाल डेभलपमेन्ट फण्डको काम तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैबीच, एनआरएनएका पूर्वअध्यक्ष कुमार पन्तले सात वर्षको अथक प्रयासले अहिले मूर्तरूप पाएको प्रतिक्रिया दिएका छन्।

“एनआरएनए नेपाल डेभलपमेन्ट फण्डसम्बन्धी कानूनी संशोधन स्वीकृत हुनु डायस्पोराको लगानी नेपाल भित्र्याउने दिशामा ऐतिहासिक कोशेढुंगा हो,” पन्तले भने।

एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडलाई विश्वभर रहेका नेपालीहरूको लगानी, ज्ञान र अनुभवलाई नेपालको दिगो आर्थिक विकास, पूर्वाधार निर्माण, उत्पादनमूलक क्षेत्र तथा पूँजी बजारसँग जोड्ने दूरदर्शी राष्ट्रिय अभियानका रूपमा लिइएको छ।  यो फण्डमा नेपाल सरकारको ५ प्रतिशत लगानी रहनेछ। नेपाल सरकार, गैरआवासीय नेपाली (एनआरएन) र सर्वसाधारणको संयुक्त लगानीमा सञ्चालन हुने यो फण्ड नेपालकै पहिलो परियोजना हो।

प्रकाशित: २६ श्रावण २०८३ २०:४१ मंगलबार