प्रवास

रास्वपा नेता मनिष झा साताव्यापी बेलायत भ्रमणमा जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा विदेश विभाग प्रमुख मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत जाने भएका छन्। उनी अक्टोबर ३० देखि नोभेम्बर ६ सम्म बेलायतमा रहनेछन्।

रास्वपा प्रवास सम्पर्क विभाग बेलायतका सभापति पवन शर्माका अनुसार झा अक्टोबर ३० मा बेलायत पुग्ने कार्यक्रम छ। झाले पनि आगामी सातादेखि बेलायत भ्रमणमा जान लागेको पुष्टि गरेका छन्।

झाको भ्रमणका अवसरमा रास्वपा बेलायत शाखाले नोभेम्बर १ आइतबार पूर्वी लण्डनमा भेटघाट तथा संवाद कार्यक्रम आयोजना गर्ने भएको छ। शाखाका महासचिव कृष्ण लुइँटेलले उक्त कार्यक्रमबारे जानकारी दिएका हुन्।

भ्रमणका क्रममा झाले बेलायतस्थित नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउने र नेपाली व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम छ। त्यसैगरी, बेलायती संसद् अवलोकन गर्ने तथा लण्डनस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ।

भ्रमण पूरा गरी झा नोभेम्बर ६ मा नेपाल फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १९:३७ आइतबार