प्रवास

विदेशका नेपाली श्रमिकको समस्या हल गर्न एनआरएनए र आईएलओबीच सम्झौता

गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या सम्बोधन गर्न सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क’ परियोजना कार्यान्वयन गर्न सम्झौता भएको छ ।

संघको सचिवालयमा स्वीस विकास तथा सहयोग संस्था (SDC)को सहयोगमा सञ्चालित ‘माइग्रेन्ट राइट्स एण्ड डीसेंट वर्क परियोजना दोस्रो चरणको कार्यान्वयन गर्न दुई संस्थाबीच सम्झौता भएको हो । आईएलओ नेपालका निर्देशक नुमान ओजकान र एनआरएनएका अध्यक्ष डा. बद्री केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

सम्झौताअनुसार मुख्यतया मध्यपूर्व र मलेसिया लगायतका गन्तव्य मुलुकमा एनआरएनएको संस्थागत क्षमता अभिवृद्धिका साथै नेपाल सरकारसँग नीतिगत वकालत एवं पैरवी, श्रमिकलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता, महिला र अलेखबद्ध (अवैधानिक) अवस्थामा रहेका श्रमिकलाई कानूनी परामर्श, सचेतना अभिवृद्धि लगायतका विषयलाई यो परियोजनाले प्राथमिकतामा राखेर काम गर्नेछ ।  

यो परियोजनाले एनआरएनएका प्रतिनिधिलाई तालिम, नेपाली कूटनीतिक मिसनहरूसँग समन्वय तथा सेवा प्रवाह प्रणालीलाई संस्थागत गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

यो अवसरमा आईएलओ नेपालका निर्देशक ओजकानले ‘एनआरएनलाई रणनैतिक साझेदार मित्रका रुपमा लिईएको र यस संस्थाको विश्वब्यापी सञ्जालका माध्यमबाट विदेशमा रहेका नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधान गर्न परियोजनाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित: ११ भाद्र २०८२ १६:०९ बुधबार