गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा शनिबार बिहान स्वयम्भूस्थित बौद्ध स्तुपामा १०८ दीप प्रज्वलनसहित विशेष कार्यक्रम सम्पन्न गरेको छ।
संघका अध्यक्ष महेशकुमार श्रेष्ठ, पूर्वअध्यक्ष विनोद कुँवर, उपाध्यक्ष खगेन्द्र न्यौपाने, विश्वासदीप तिङ्गेला, महासचिव बाबुराम (बीआर) लामा, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, युरोप संयोजक प्रेम गुरुङसहितका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा शान्ति, एकता र समृद्धिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले हाल गैरआवासीय नेपालीहरूबीच एकताको कुनै विकल्प नरहेको उल्लेख गर्दै त्यसका लागि सबै पक्षहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले देशमा ठूलो क्षति पु¥याएको स्मरण गर्दै अब पुनर्निर्माण र राष्ट्रिय एकताको बाटो रोज्न जरुरी भएको बताए।
स्थापना दिवसकै अवसरमा शनिबार बग्गीखानामा आयोजित चियापान कार्यक्रममा ट्राफिक कन्ट्रोल रुमको अवलोकन गरिएको थियो। उपाध्यक्ष मनोज गोर्खालीले सो अवसरमा देश निर्माणको यो सुरुवात मात्रै भएको जनाउँदै अझ धेरै काम गर्न बाँकी रहेको बताए।
स्वागत मन्तव्य दिँदै उपाध्यक्ष खगेन्द्र न्यौपानेले संस्थाभित्र एकता नभए संघ कमजोर बन्ने चेतावनी दिँदै संस्थाका अग्रज र अभियन्ताहरूलाई अहंकार र जुँगाको लडाइँ छाडी एउटै एनआरएन बनाएर अघि बढ्ने सुवर्ण अवसर नगुमाउन आग्रह गर्दै फुट ल्याउने प्रवृत्तिबाट टाढा रहन सबैलाई चेतावनी दिएका छन्।
प्रकाशित: २५ आश्विन २०८२ १७:५० शनिबार