अमेरिकामा नेपाली जातिका मानिसहरुको बाक्लो बस्ती भएका शहरहरुमध्ये ओहायोका दुई शहरहरुमा छठ पूजा र तिहार कार्यक्रम भव्यरुपमा सम्पन्न भएका छन्। ओहायोको न्यू अल्बनी शहरका मेयर स्लोएन स्पेल्डिंगले शहर प्रसासनकै तर्फबाट अक्टोबर १८ मा तिहार विशेष कार्यक्रम आयोजना गरे।
सो कार्यक्रममा नेपाल सरकारका अवैतनिक वाणिज्यदूत डा.दामोदर पौडेलले विशेष अतिथि बनाएका थिए भने स्थानीय भारतीय मूलका व्यक्तिहरु र नेपाली मूलका व्यक्तिहरुको सामुहिक आयोजनामा कोलम्बस शहरमा छठ पर्व पनि मनाइएको छ।
न्यू अल्बनी शहरको तिहार कार्यक्रममा मेयर स्लोएनले पूरै अक्टोबर महिनालाई हिन्दू हेरिटेज महिनाका रुपमा शहरले मनाउने घोषणा गरेको पत्र नै पढेर सुनाएका थिए भने वाणिज्यदूत डा.पौडेलले नेपालमा तिहार, दिपावली र भारतमा दिवाली भनेर मनाइने चाडका बारेमा जानकारी दिएका थिए। उनले अंध्यारो पक्षमाथि उज्यालोको जितका रुपमा यो चाडको विशेष महत्व रहेको बताएका थिए । नेपाली मूलकी आरती शर्माको टोलीले भैलीसहितका नृत्यहरु प्रस्तुत गरिएको सो कार्यक्रममा नेपाली मूलका स्थानीय वासिन्दाको वाक्लो उपस्थिति थियो।
त्यसैगरी भारतीय हिन्दू मन्दिर कोलम्बसमा घाट नै बनाएर नेपाली र भारतीय समुदायले अक्टोबर २७मा सामुहिकरुपमा मनाएको छठले नेपालको जनकपुरमै मनाएको जस्तो झल्को दिएको थियो। कोलम्बसमा स्थानीय अस्पतालमा कार्यरत डा. सन्जु महतोले आफूहरुले जनकपुरमा रहंदा मनाएको जस्तो गरी अमेरिकामा पनि छठपर्व मनाउन पाउंदा खुसी लागेको बताइन्।
नेपाली र भारतीय मूलका श्रद्धालुहरुको ठूलो सहभागिताले आफ्नो संस्कृतिलाई पुस्तान्तरण गर्न मद्धत पुगेको महसुस भएको उनले बताइन्।
प्रकाशित: १३ कार्तिक २०८२ १२:५९ बिहीबार



