नेपाली युवा श्यामसुन्दर श्रेष्ठले अस्ट्रेलियन युनिभर्सिटीको ‘ब्राइट स्पार्क अवार्ड’ प्राप्त गरेका छन् ।
काठमाडौंका २२ वर्षीय स्नातक तहमा अध्ययनरत विद्यार्थी श्यामसुन्दर श्रेष्ठले अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयद्वारा आयोजित प्रतिष्ठित अस्ट्रेलियन ई-च्यालेन्ज २०२५ मा तेस्रो स्थानसहित ‘ब्राइट स्पार्क अवार्ड’ जितेका छन् । अस्ट्रेलियाको एडिलेड, दक्षिण अस्ट्रेलियामा हालै सम्पन्न गाला डिनर समारोहका दौरानमा उनलाई यो सम्मान प्रदान गरिएको हो ।
अस्ट्रेलियन ई–च्यालेन्ज देशकै सबैभन्दा पुरानो विश्वविद्यालय आधारित उद्यमशीलता कार्यक्रम हो । यस वर्ष प्रतियोगिताको २५औँ वार्षिकोत्सव मनाइएको थियो । सन् २००१ देखि सञ्चालनमा आएको यो कार्यक्रममा हालसम्म १ हजार १०० भन्दा बढी स्टार्टअपहरू सुरु गर्न मद्दत गरेको छ । जसले यसलाई उद्यमीसम्मुख युवाका लागि एक अत्यन्तै प्रतिस्पर्धात्मक र प्रतिष्ठित प्लेटफर्म बनाएको छ ।
श्रेष्ठ र उनको टोली रेडियो एआईले खानी तथा भारी उद्योगका लागि विशेष कृत्रिम बुद्धिमत्ता (एआई) मोड्युल विकास गरेकोमा उच्च मूल्यांकन प्राप्त गरेका छन् ।
उनीहरूको प्रविधि अवस्थित एनालग रेडियो नेटवर्कसँगै काम गर्छ, जसले खानी क्षेत्रमा कार्यरत कामदारलाई सामान्य वाकी–टकी प्रयोग गरेर एआई भ्वाइस एजेन्टसँग प्रत्यक्ष कुरा गर्न सक्षम बनाउँछ । यस प्रविधिले महँगो नयाँ पूर्वाधारको आवश्यकता बिना नै कामदारलाई प्राविधिक डेटा, सुरक्षा प्रोटोकल तथा अन्य महत्वपूर्ण जानकारीमा छिटो पहुँच उपलब्ध गराउँछ ।
अन्तिम प्रस्तुतिमा करिब ३०० उद्योग नेताहरूको उपस्थितिमा श्यामसुन्दरले पूर्ण खानी सुरक्षा पोशाक (माइनिङ सेफ्टी गियर) लगाएर प्रविधिको प्रत्यक्ष प्रदर्शन गरेका थिए ।
विजेताका रूपमा, श्यामसुन्दर र उनकी टोलीले एडिलेड विश्वविद्यालयको व्यापार इन्क्युबेटर त्यजी क्यालबमा रेसिडेन्सी हासिल गरेका छन् । अब उनीहरूले आफ्नो रेडियो एआई प्रविधि अझ विस्तारित गर्न तथा वैश्विक बजारमा लैजान विश्वविद्यालयबाट व्यावसायिक मार्गदर्शन, परामर्श र आवश्यक सहयोग प्राप्त गर्नेछन् ।
प्रकाशित: २४ मंसिर २०८२ १६:५९ बुधबार



