प्रवास

गो`ली लाग्दा पनि रोकिएनन् नेपाली विकास, अस्ट्रेलियाले दियो यस्तो ठुलो सम्मान !

अस्ट्रेलियामा कार्यरत नेपाली मूलका प्रहरी अधिकारी विकास भारतीले राष्ट्रिय बहादुरी पुरस्कार प्राप्त गरेका छन्।

सिड्नीको क्रोयडन पार्कमा सन् २०२५ अक्टोबर ५ मा भएको गोलीकाण्डका क्रममा देखाएको साहस र कर्तव्यप्रतिको समर्पणका लागि उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीअन्तर्गत बुरवुड प्रहरी क्षेत्र कमान्डमा कार्यरत वरिष्ठ प्रहरी अधिकारी भारतीलाई सन् २०२६ को संयुक्त राष्ट्रिय बहादुरी पुरस्कार प्रदान गरिएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अस्ट्रेलियाको प्रहरी महासंघले बुधबार क्यानबेरामा आयोजना गरेको समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरेको थियो।

सन् २०२५ अक्टोबर ५ मा क्रोयडन पार्कमा गोलीकाण्ड हुँदा भारती घटनास्थलमा पुग्ने पहिलो प्रहरी अधिकारीमध्ये एक थिए। घटनाका क्रममा आफूलाई समेत गोली लागे पनि उनले आफ्नो सुरक्षाको परवाह नगरी कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए। साथै, घाइते सर्वसाधारणलाई सहयोग गरेका थिए।

पुरस्कार ग्रहण गरेपछि भारतीले सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया पुग्दा यस्तो सम्मान पाउने कल्पनासमेत नगरेको बताए। उनले यो उपलब्धि आफ्नो व्यक्तिगत प्रयासको परिणाम मात्र नभएको उल्लेख गर्दै सहकर्मीको साथ, तालिम र विश्वासलाई श्रेय दिएका छन्।

'पुरस्कारमा मेरो नाम भए पनि प्रहरी सेवा कहिल्यै व्यक्तिगत प्रयास मात्र होइन,' भारतीले भने। उनले आफूले गरेको काम सहकर्मीको सहयोग, तालिम र विश्वासका कारण सम्भव भएको बताए।

'म हरेक दिन साथमा उभिने सहकर्मी र विशेषगरी घटनाको रात प्रतिक्रिया दिन पुगेका प्रहरी अधिकारीसँग यो सम्मान बाँड्न चाहन्छु,' उनले थप भने।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि संघीय संसदमा भारतीको साहस र कर्तव्यप्रतिको समर्पणको प्रशंसा गरेका छन्। 

भारतीले आफूलाई स्वागत गरेको र देशका लागि योगदान गर्ने अवसर दिएको अस्ट्रेलिया तथा त्यहाँको समुदायको सेवा गर्न पाउँदा भाग्यमानी महसुस गरेको बताए।

'म प्रहरीको पोसाक लगाउन पाउँदा गर्व गर्छु। यस्ता समर्पित महिला तथा पुरुषसँगै सेवा गर्न पाउनु मेरा लागि गौरवको कुरा हो। यो असाधारण सम्मानका लागि आभारी छु,' उनले भने।

न्यु साउथ वेल्स प्रहरी आयुक्त माल लान्योनले पनि भारतीको साहसको प्रशंसा गरेका छन्। उनले क्रोयडन पार्कको जोखिमपूर्ण घटनाका क्रममा भारतीले आफ्नो सुरक्षाभन्दा अरूको सुरक्षालाई प्राथमिकता दिएको बताए।

'वरिष्ठ प्रहरी अधिकारी भारतीले असाधारण बहादुरी देखाए। उनको कामले सुरक्षा र सेवा गर्ने प्रहरीको प्रतिबद्धतालाई व्यवहारमै प्रमाणित गरेको छ,' आयुक्त लान्योनले भने।

उनका अनुसार भारतीले प्रहरी अधिकारीले हरेक दिन देखाउने साहस, गुण र प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ ०९:२८ शनिबार