प्रवास

वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्न एनआरएनए र सामाजिक सुरक्षा कोषबीच छलफल

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तथा उनीहरूको भविष्य सुरक्षित गर्ने विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच छलफल भएको छ।

आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुन लागेको एनआरएनएको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारीका क्रममा दुवै पक्षबीच सहकार्य र समन्वयका विषयमा छलफल भएको हो।

मंगलबार सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मी र उनको टोलीसँग एनआरएनएका मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठसहितको टोलीले भेटवार्ता गरेको थियो। भेटमा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् सचिवालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रकुमार राउतसमेत सहभागी थिए।

सम्मेलनमा सामाजिक सुरक्षा कोषसम्बन्धी विशेष सत्र समावेश गरिएकाले त्यसको तयारी र सहकार्यका विषयमा छलफल गरिएको एनआरएनएले जनाएको छ। यसअघि नै सम्मेलनमा सहभागिताका लागि सामाजिक सुरक्षा कोषलाई औपचारिक निमन्त्रणासमेत पठाइसकिएको थियो।

छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया, कोषबाट प्राप्त हुने लाभ तथा सुविधाका विषयमा विचारविमर्श भएको थियो।

विशेषगरी विदेशमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्ने, उनीहरूलाई कोषको दायरामा ल्याउने र कोषले उपलब्ध गराउने सेवा तथा सुविधाबारे विदेशमा रहेका नेपालीमाझ जनचेतना विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक श्रेष्ठले सामाजिक सुरक्षा कोषसँगको सहकार्यलाई प्रभावकारी बनाउनु वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको भविष्य सुरक्षित गर्न महत्त्वपूर्ण रहेको बताए।

उनले आजको भेटघाट उपलब्धिमूलक भएको उल्लेख गर्दै सम्मेलनलाई सफल र सार्थक बनाउन सहयोग तथा समन्वय गरेकोमा सामाजिक सुरक्षा कोषका निर्देशक रेग्मी र उनको टोलीप्रति आभार व्यक्त गरे।

दोहामा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, श्रमिक अधिकार, सामाजिक सुरक्षा र भविष्यको सुनिश्चितताका विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ।

सम्मेलनले विदेशमा रहेका नेपाली श्रमिकका सरोकारलाई नीतिगत तहसम्म पुर्‍याउनुका साथै नेपाल सरकारका सम्बन्धित निकाय र प्रवासी नेपालीबीच सहकार्यको थप आधार तयार गर्ने विश्वास लिइएको छ।

प्रकाशित: १ मंसिर २०८३ १९:१२ मंगलबार