अमेरिकाका सात शहरमा बस्ने नेपाली समुदायका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीया किशोरी आर्या खनाल प्रथम भएकी छन् । त्यसैगरी सात शहरकै बीच भएको नृत्य प्रतिष्पर्धामा कोलम्बसकै १३ वर्षीया खुसी अधिकारी विजेता घोषित भएकी छन् ।
नेपाली समुदायका मानिसहरुको उल्लेख्य बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको ह्यारिसवर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टन शहरका प्रतिभाले प्रतिस्पर्धामा भाग लिएका थिए ।
अमेरिकामै जन्मे हुर्केका नेपाली समुदायका बालबालिका र किशोर किशोरीलाई नेपाली कला संस्कृतितर्फ आकर्षित गर्ने चुनौतीपूर्ण कार्य विगत १० वर्षदेखि निरन्तर हुँदै आएको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताए । भुटानबाट लखेटिनुपर्दा पनि नछाडेको नेपाली संस्कृतिलाई पुस्तान्तरणको अभियानमा सबैको साथ चाहिने उनले बताए ।
विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै उनले नेपाली समुदायको पहिचान लिएर गर्वका साथ जीवन जिउन सिकाउन फाउण्डेसनले सात शहरहरुमा सातवटा नेपाली नृत्य र संगीतका कक्षाहरु सञ्चालन गरिरहेको जनाएको छ ।
कार्यक्रम संयोजक चन्द्र पराजुलीका अनुसार, गायनतर्फ सात शहरबाट छनौट भएर आएका २२ जनाका बीचमा प्रतिष्पर्धा भएको थियो भने नृत्यतर्फ ३४ जना र ग्रुप नृत्यतर्फ ६ वटासमूह छनौट भई अन्तिम प्रतिष्पर्धा भएका थियो । बिजेताहरुलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । सातै शहरबाट छनौट भएका प्रतियोगी बालबालिकालाई उनीहरुका अभिभावकहरुले प्रतिष्पर्धास्थल एक्रोनसम्म पुर्याएका थिए भने उनीहरुलाई दुई दिनसम्म खाना र बस्नको व्यवस्था फाउण्डेसनले नै गरेको संस्कृति विभागका प्रमुख ओमराज गुरङले जानकारी दिए । कार्यक्रमको दोस्रो दिन इन्ट्रा परिवारका विभिन्न शहरबाट भेला भएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।
प्रकाशित: ७ पुस २०८२ १९:२७ सोमबार