प्रवास

हङकङ र मकाउमा 'एमआरपी शिविर'

हङकङ-चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ र मकाउका नेपालीलाई समयमै एमआरपी– मेशिन रिडेवल पासपोर्ट दिलाउन महवाणिज्य दूताबासले फारम संकलन शीविर सञ्चालन गरेको छ। दुई महिनाअघि पहिलो पटक हङकङस्थित कार्यालय बाहिर शीविर राखेर फारम संकलन गरेको दूताबासले आइतबार दोस्रो शीविर चलाएको हो।


हङकङको नेपाली बाहुल्य क्षेत्र जोर्डनस्थित नमोबुद्ध आमा समूहको कार्यालयमा आइतबार दूताबासले राखेको दोस्रो शीविरमा फारम बुझाउनेको भीड थियो। नेपालीको सघन बस्ती रहेको अर्को क्षेत्र युङलोङस्थित सगरमाथा किण्डर गार्टेनमा माघ ४ गते तेस्रो शीविर राख्ने दूताबासले जनाएको छ। दूताबासले एमआरपी पासपोर्टका लागि फारम संकलन गर्न कार्यालय समय एक घण्टा बढाएको छ भने मकाउमा पनि शीविर राख्ने तयारी गरेको छ।
हङकङ र मकाउका लागि महावाणिज्यदूत महेशप्रसाद दाहालका अनुसार आइकाओको बाध्यकारी प्रावधान अनुसार आगामी नोभेम्बर २४ सम्म विदेशमा बस्ने सबै नेपालीले एमआरपी पासपोर्ट लिइसक्नु पर्ने भएकाले शीविर सञ्चालन गरी फारम संकलन गरिएको हो। 'नोभेम्बरसम्म हङकङ र मकाउका सबै नेपालीको हातमा नयाँ पासपोर्ट पुर्यानउने हाम्रो योजना छ', दाहालले भने, 'कामको व्यस्तता तथा अन्य कारणले दूताबास आउन नसक्नेहरूलाई सहज बनाउन नेपाली संघसंस्थासँग समन्वय गरी शीविर सञ्चालन गरेका छौँ।'
हङकङमा करिब ३० हजार नेपाली रहेकोमा अहिलेसम्म १४ हजार सात सयले एमआरपी पासपोर्ट लिइसकेका छन् भने करिब दश हजारले लिन बाँकी रहेको दूताबासको अनुमान छ। झण्डै तीन हजार नेपाली कामदार रहेको मकाउमा एक सय पचास जना जति एमआरपी पासपोर्ट लिन बाँकी छन्। अति व्यस्त रहनु पर्ने कामबाट आइतबार मात्र छुट्टी मिल्ने र त्यो दिन दूताबास बन्द रहने हुँदा पासपोर्ट फारम बुझाउन समस्या आइपरेको गुनासो शीविर सञ्चालनपछि कम भएको छ।
महिनामा दुई वटा शीविर चलाउने योजना रहेको बताउँदै दाहालले प्रत्येक शीविरबाट तीनदेखि पाँच सय फारम संकलन भइरहेको र यही गतिमा काम भए तोकिएको समयमा सबैले नयाँ पासपोर्ट पाउने उल्लेख गरे। काठमाडौँमा पासपोर्ट बनाउँदा हुने गल्ती सच्याउने प्रयास भइरहेको र शीविरमा फारम विस्तृत हेरेर मात्र पैसा बुझिने हुँदा अब नयाँ पासपोर्टमा त्रुटी कम हुने दूताबासको दाबी छ।
दूताबासले वेभसाइटबाट एमआरपी फारम प्रिन्ट गरी भर्न सकिने व्यवस्था गरेको छ भने 'कन्सुलेट जेनरल अफ नेपाल हङकङ'फेशबुक पेज मार्फत् केही सूचना पनि उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: २१ पुस २०७१ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App