आइतबार यहाँ आयोजित वानपाकु सुमोको ४० औं संस्करणमा प्राथमिक तहका ३५० जना जापानी र विदेशी विद्यार्थीले भाग लिएका हुन्। प्रतियोगितामा एभरेष्ट इन्टरनेसनल स्कुलका तर्फबाट २० जना नेपाली विद्यार्थीहरुको सहभागिता जनाएका थिए। अत्यन्त प्रतिस्पर्धात्मक खेलहरुमा एभरेष्ट इन्टरनेसनल स्कुलका कक्षा ६ मा अध्ययनरत बिध्यार्थी इमान श्रेष्ठ र कक्षा ६ कै प्रिन्का खत्रीले उत्कृष्ट प्रदर्शन गरे।
कक्षा ६ समूहका २१ जना प्रतियोगी बीचबाट ४ जना विपक्षी खेलाडीहरुलाई हराउँदै नेपाली विद्यार्थी इमान श्रेष्ठले फाइनल सम्मको यात्रा तय गरे। फाइनल खेलमा उनी गत वर्षको ५ कक्षा समुहका बिजेता ओओकिइ लाओसँग पराजित भए। बिना कुनै तालिम उनले यो उपलब्धि हात पारेका हुन्। त्यसै गरी एभरेष्ट इन्टरनेसनल स्कुलकै कक्षा ६मा अध्ययनरत प्रिन्का खत्रीले उत्कृष्ट खेल खेले बापत पुरस्कृत भइन्।
एभरेष्ट इन्टरनेसनल स्कुलका अन्य प्रतियोगीले पनि प्रतियोगितामा अनुसासित खेल खेलेर दर्शकको मन जितेका थिए। जापानको राष्ट्रिय खेल सुमोमा जापानी तथा अन्य विदेशी प्रतियोगीसँग खेल्न पाउँदा नेपाली विद्यार्थीले अत्यन्त उत्साहित भएका थिए।
कार्यक्रममा एभरेष्ट इन्टरनेसनल स्कुलका विद्यार्थीहरु सुगम गिरी, शैलेसा अधिकारी, एल्सन काप्री र आर्यन बास्तोलाले नेपाली नृत्य प्रस्तुत गरेर प्रतियोगीहरु तथा उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए। कार्यक्रममा एभरेष्ट इन्टरनेसनल स्कुलका विध्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका, व्यवस्थापन समितिका सदस्यहरु र नेपाली दर्शकहरुको उल्लेख्य उपस्थिति थियो।
इमान श्रेष्ठ र प्रिन्का खत्रीको उपलब्धिले अवसर पाएमा नेपालीका बालबच्चाहरुले जुनसुकै क्षत्रमा पनि सफलता हासिल गर्न सक्दछन् भन्ने देखाएको एभरेष्ट इन्टरनेसनल स्कुलका प्रिंसिपल प्रदीप थापाले बताए। 'यथासक्य छिटो उचित पुर्वाधरसहितको विद्यालय भवनको व्यवस्था गरेर बिध्यार्थीहरुलाई पठनपाठन, खेलकुद र अतिरिक्त क्रियाकलापहरुमा समयसापेक्ष अवसरहरु प्रदान गर्ने लक्ष्य हामिले लिएका छौं', उनले भने।
हाल जापानी, बंगलादेशी अनि नेपाली सहित डेढ सय भन्दा बढी विद्यार्थीहरू उक्त विद्यालयमा अध्ययनरत छन्।
प्रकाशित: २ जेष्ठ २०७३ २३:३० आइतबार