प्रवास

बेलायतमा नेपाली मूलका मेयर निर्वाचित

लन्डन—बेलायतमा गत हप्ता सम्पन्न स्थानीय निर्वाचनमा गैरआवासीय नेपाली पहिलो पटक मेयरमा निर्वाचित भएका छन्। स्वान्ली टाउन काउन्सिल, केन्टको मेयरमा कन्जरभेटिभ पार्टीबाट शंकर गैरे निर्वाचित भएका हुन्।गुल्मी जिल्लाबाट बेलायत आएका गैरे ट्याक्सी व्यवासयमा संलग्न छन्। बुधवार काउन्सिल च्याम्बर भएको निर्वाचनमा १६ काउन्सीलर मध्ये १४ जनाले गैरेको पक्षमा मतदान गरेका थिए। बेलायतको बिभिन्न सामाजिक कार्यमा समेत सकृय गैरे यस अघि सोही काउन्सिलमा उपमेयर थिए।

उनले बेलायतको सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन युके, कोसेली नेपाली सांस्कृतिक परिवार र साहित्य विकास परिषद युके लगायतका संस्थामा काम गरिसकेका छन्।

२२ वर्ष अघि अध्ययनका लागि बेलायत आएका गैरेले नागरिकन्युजसँग टेलिफोनमा कुरा गर्दै केन्ट क्षेत्रमै पहिलो पटक विदेशी मुलको ब्यक्ति मेयरको रुपमा निर्वाचि हुन पाउँदा निकै खुशी लागेको प्रतिक्रया दिए। सामान्य परिवारको मान्छे यहाँसम्म आएर बेलायतीहरुको समेत मन जित्न सकेको भन्दै प्रशन्नता प्रकट गरे।

मेयर जोन बार्नेस्ले गैरेलाई एक विशेष कार्यक्रमबीच आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका छन्।

प्रकाशित: ३० वैशाख २०७३ ०२:४७ बिहीबार