प्रवास

नेपालीका लागि निःशुल्क स्वास्थ्य जॉच

टाेकियाे— जापानको राजधानी टोकियो नजिकको तोचिगि प्रिफेक्चरको आशिकागा शहरमा दुईदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। अप्रिल ३१ र मे १ तारिखका दिन नेपाल र नेपालीलाई माया गर्ने जापानी व्यवसायीहरूद्वारा गठित 'आसिकागा नेपारु कोरिउ क्योखाई' नामक संस्थाले आयोजना गरेको सो स्वास्थ्य शिविर आसिकागा कोग्यो दाईगाकुको प्राङगणमा सम्पन्न भएको हाे।'गतसाल महा-भुकम्प बाट प्रभावित भएको नेपाल र नेपालीलाई कुनै न कुनै माध्यम बाट हामीले सहयोग गर्न चाहिरहेका थियौं',आयोजक संस्थाका अध्यक्ष वातानाबे योसिमिले भने,'नेपालका वास्तविक भूकम्पपीडितसम्म सहयोग पुर्रयाउन कठिन हुने महसूस भएपछि जापानमै बसोबास गर्ने नेपाली समुदायलाई केही सहयोग गरौं भन्ने सोचेर यो स्वास्थ्य शिविर आयोजना गरेका हौं।'

नेपालीहरुको बाक्लो बस्ती भएको गुन्मा र तोचिगी क्षेत्रलाई लक्षित गरि आयोजना गरिएको शिबिरमा डेढ सय भन्दा बढी नेपालीहरू सहभागी भएका थिए। जापानमा बसोबास गर्दै आएका बिभिन्न रोगका ९ जना विशेषज्ञ चिकित्सकहरूले नि:शुल्क रूपमा मुटु रोग, मधुमेह, दाँतसम्बन्धी रोग, मनोरोग लगायत बारेमा परामर्श तथा स्वास्थ्य सुविधा प्रदान गरेका थिए। नेपाली बिशेषज्ञ डाक्टरहरु प्रकाश शाक्य, सन्दीप शाक्य, सुमन श्रेष्ठ, बिजय ज्ञवाली, सुजाता साख, दिपेन्द्र गौतम, ऋचा शाह, अभिषेकी श्रेष्ठ र अमृत बराल लगायतको समूहले उक्त शिविरमा सेवा प्रदान गरेका थिए।

'विद्यार्थीबाहेक अन्य कार्यका लागि जापानमा रहेका नेपालीहरूमा धेरै प्रकारका स्वास्थ्य समस्या रहेको पायौं' ,शिविरमा सहभागी डा. प्रकाश शाक्यले भने, 'भाषाको समस्याले गर्दा यहाँका धेरै नेपालीहरू रोग पहिचान गर्न नसकेर पीडित हुनुहुन्छ। यो शिबिरले धेरै नेपालीहरू लाभान्वित हुनुभयो अब हामी यस्ता खालका शिबिर अरू स्थानमा आयोजना गर्ने योजनामा छौं।'

स्वास्थ्य शिबिरमा सहभागीहरूले आभार प्रकट गर्दै हरेक ६-६ महीना यस्ता शिविर आयोजना गर्न अनुरोध गरेको आयोजक संस्थाका सचिब तथा शिविर संयोजक बिकाश लम्सालले बताए।

दुई दिने शिविरको समापन जापानका लागी नेपाली कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारीले गरेका थिए। नेपाली समुदायलाई लक्षित गरि कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई उनले धन्यवाद दिए। यस्ता समाजिक कार्यलाई दूतावासको सधै सहयोग रहने उनकाे भनाइ थियाे।

प्रकाशित: २१ वैशाख २०७३ ०४:३२ मंगलबार