प्रवास

जापानमा स्वय‌ंभू मन्दिर निर्माण

टोकियो- जापानको कोबे शहर स्थित शुमामा नेपालको स्वयंभूनाथ स्तुपाशैलीमा नयाँ मन्दिर निर्माण भएको छ। करिब १० करोड यान (करिब ९ करोड रुपैयाँ) लागतमा निर्माण सम्पन्न भएको सो स्तुपा मन्दिर १ रोपनी क्षेत्रफलमा फैलिएको छ।

वैशाख १२ का भूकम्पमा ज्यान गुमाउनेहरुको आत्मशान्ति तथा नेपालको शीघ्र पुनःनिर्माण कामना गर्दै बनाइएको मन्दिरलाई 'नेपाल अर्थक्वेक मेमोरियल टेम्पल' नाम दिइएको छ। ४३ वर्षदेखि जापानमा बसोबास गर्दै आएका एनआरएनए अभियन्ता एवम् ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष देवमान हिराचनको पहलमा सो मन्दिर निर्माण भएको हो।

मन्दिरले काठमाडौंका दुई मुख्य पवित्र स्थान पशुपतिनाथ र स्वयम्भुनाथको सम्झना गराउँछन्। बाहिरी भाग प्यागोडाशैलीमा निर्माण गरिएको छ जसले पशुपतिनाथको झल्को दिन्छ। भित्री भागमा स्तुपाशैली स्थापना गरिएको छ।

मन्दिर परिसर भित्र नेपाली मौलिकपन, नेपालको चिनारी झल्काउने खालको संग्रहालयको समेत निर्माण गरिएको छ। संग्रालयमा नेपाली हस्तकलाका सामग्रीहरू राखिएको मन्दिरमा अगाडि 'नेपालको प्रार्थनाको निम्ति निर्मित' भनेर लेखिएको छ। बौद्ध धर्मावलम्बी माझ जापानकै प्रसिद्ध र ठूलो 'शुमादेरा'मन्दिरले लगानी गरेको नयाँ मन्दिरलाई हिराचनको अवधारणाअनुसार २ जापानी आर्किटेक्टले डिजाइन गरेका हुन्।

मन्दिरको भित्रीभाग

सन् १९९५ मा जापानको कोबे शहरलाई केन्द्रबिन्दु बनाएर आएको ६.९ रेक्टर स्केलको भूकम्पले सो सहरलाई तहसनहसन पारेको थियो। ६ हजार ५ सयभन्दा बढी जापानीले ज्यान गुमाएका थिए। त्यहीबेला मृतात्माको शान्ति कामना र कोबे शहरको शीघ्र पुनर्निर्माणको कामना गर्दै हिराचनले भूकम्प प्रभावित कोबे शहरको 'शुमादेरा' मन्दिरमा ठूलो पूजा अर्चना गराएका थिए। त्यसका लागि उनले व्यक्तिगत खर्चमा नेपालबाट ६ जना बौद्ध भिक्षुहरू झिकाएर कोबेको सुख शान्तिका लागि प्रार्थना गराएका थिए।

हिराचनले ध्वस्त शहर र त्यहाँका घाइतेको स्वास्थ्यलाभ कामना सहित पटक-पटक पूजा अर्चना गरेके देखेर शुमादेरा मन्दिर प्रशासनले जापानको सम्वृद्धि कामना गरेको भन्दै नेपालका लागि 'केही गर्छौं' भन्ने वचन दिएअनुसार अहिले मन्दिर निर्माण भएको उनले सुनाए।

'आफ्नो कर्मथलो आँखै अगाडि ध्वस्त भयो, हजारौंले ज्यान गुमाउनु पर्योे', २१ वर्ष आगाडिको विभत्स दिन स्मरण गर्दै हिराचनले नागरिकन्युजसँग भने, 'त्यो बेलामा गरेको एउटा कार्यले गर्दा आज यो शहरमा नेपालको पहिचान झल्किने मन्दिर निर्माण भएको छ। यसले नेपालको संस्कृतिलाई जापानसँग जोड्नेछ भने पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्या उनेछ।'

अार्किटेक्ट डिजाइनमा यस्तो देखिन्छ मन्दिर

शुमादेरा मन्दिर प्रमुख कोईके कुउसानले यो कार्यले नेपाल-जापान सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरे। 'यो मन्दिरले नेपाल-जापानबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नेछ', उनले भने, 'नेपालको पर्यटन प्रवर्द्धन समेत हुने हाम्रो विश्वास छ।'

गत वैशाख १२ गते (अप्रिल २५) मा नेपालको महाभूकम्पमा परी निधन भएकाहरूको सम्झना र नेपालको शीघ्र पुनःनिर्माण कामना गर्दै मन्दिरको उद्‌घाटन गरिने हिराचनले जानकारी दिए। नेपालमा बिनाशकारी महाभूकम्प गएको एक बर्ष पुग्ने दिन अर्थात् आगामी अप्रिल २५ तारिखका दिन भव्य कार्यक्रमबीच सो मन्दिर उद्‌घाटन हुनेछ।

प्रकाशित: ७ वैशाख २०७३ ०६:०५ मंगलबार