प्रवास

जापानको भूकम्पमा एक नेपाली घाइते, नेपालीका रेष्टुराँमा क्षति

टोकियो— बिहीबार राति क्युसु आइल्यान्डलाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पबाट जापानका नेपाली प्रभावित भएका छन्। भूकम्पमा परी एक नेपाली सामान्य घाइते भएका छन् भने नेपालीले सञ्चालन गरेका केही रेष्टुराँमा क्षति पुगेको छ।एनआरएन जापानका अध्यक्ष सुदन थापाका अनुसार जापानबासी सबै नेपाली भूकम्पबाट सुरक्षित छन्। एनआरएनले भूकम्प लगत्तै क्युसु क्षेत्र र आसपासका नेपालीको अवस्था बुझ्न विशेष टोली परिचालन गरेको थियो।

एनआरएनको तथ्याङ्कअनुसार भूकम्पको केन्द्रविन्दू भएको क्युसु क्षेत्रमा २२० भन्दा बढी नेपालीको बसोबास छ। त्यहाँ नेपालीहरुले रेष्टुराँ लगायतका व्यवसाय समेत सञ्चालन गर्दै आएका छन्। उनले केही नेपालीले सञ्चालन गरेका रेष्टुराँमा भूकम्पले क्षति पुर्या एको बताए।

'नेपालीका केही रेष्टुरेन्टमा क्षति पुगेको छ', अध्यक्ष थापाले नागरिकन्युजसँग भने, 'एक जनालाई चोट लागेको छ।' सिसाले काट्दा लागेको चोट सामान्य भएको उनले बताए।

बिहीबार राति ९:२६ बजे क्युसु आइल्यान्डमा ६ दशमलव ५ म्याग्नेच्युटको भूकम्प गएको थियो। जापानमा भूकम्प जानु सामान्य मानिए पनि यो भूकम्पको केन्द्रविन्दू पृथ्वी सतहदेखि १० किलोमिटर मात्र तल रहेका कारण यसले धेरै क्षति पुर्याूएको छ। शक्तिशाली भूकम्पपछि परकम्प जानेक्रम अझै रोकिएको छैन।

टोकियोस्थित नेपाली दूतावास, एनआरएन लगायत यहाँका संघसंस्थाहरुले सुरक्षित स्थानमा बस्न नेपालीलाई आग्रह गरेका छन्। नेपाली दूतावास तथा एनआरएनले भूकम्पका कारण कोही अप्ठ्यारोमा परेमा तत्काल सम्पर्क गर्न आग्रह गरेका छन्।

९ जनाको मृत्यु, ४० हजार प्रभावित

सो भूकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म ९ पुगेको छ। एक हजार घाइते भएका छन् भने ४० हजारभन्दा बढी प्रभावित बनेका छन्। केही घाइतेको अवस्था गम्भीर भएको जापानका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।

जापानको मौसम विभागकाअनुसार दक्षिणी क्षेत्र केन्द्रविन्दू भएर बिहीबार राति लगातार पराकम्प गएपछि त्यहाँ मानिसहरु रातभरी घर बाहिरै बसेका थिए। भूकम्पका कारण धेरै भवन भत्किएका छन्। भग्नावशेषमा थप मानिस पुरिएको हुनसक्ने जापानी उद्धारकर्ताको शंका छ। विद्युत तथा ग्यास आपूर्ति बन्द भएको छ। भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन।

प्रकाशित: ३ वैशाख २०७३ ०२:२८ शुक्रबार