प्रवास

जापानमा हुने 'नेपाली साँझ' नि:शुल्क

टाेकियाे-सामन्यतया जापानी २ हजार देखि १० हजार येन सम्म तिरेर सांगितिक कार्यक्रमको स्वाद लिने गरेका जापानबासी नेपालीहरूले आगामी मे २ तारिखमा आयोजना हुने भव्य सांगीतिक कार्यक्रम "नेपाली साँझ २०१६" निशुल्क हेर्न पाउने भएका छन्।

आफ्नो सम्पर्क कार्यालय मार्फत् सिधा बैकिङ सेवा सुरु गर्न लागेको सिद्धार्थ बैक तथा रेमिटयान्स प्रदायक कम्पनी सिद्धार्थ रेमिटले औपचारिक रूपमा सेवा प्रारम्भको अवसर पारेर निशुल्क प्रवेश सहितको भव्य सांगीतिक कार्यक्रमको आयोजन गर्ने भएको हो।

 टोकियोको नाकानो जिरो हलमा आगामी मे २ तारिकका दिन आयोजना हुन लागेको सांगीतिक कार्यक्रम "नेपाली साँझ २०१६" मा नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल, चर्चित हास्य टेलिशृंखला "भद्रगोल"का कुमार कट्टेल(जिग्री), अर्जुन घिमिरे(पांडे) तथा लोकप्रिय पपगायक निमा रुम्वा, लोकगायिका काजल गुरुङ लगायतका साथै नेपाली चलचित्रकी चर्चित नायिका ऋचा शर्माको नृत्य तथा वेजोड प्रस्तुति रहनेछ।

इभेंट म्यानेजर हरिचन्द्र लामाको ब्यवस्थापनमा हुने सो सांगीतिक कार्यक्रममा सहभागिता जनाउन रेमिटयान्सको बेवसाईट तथा लिंकबाट वा फारम भरेर निशुल्क पास लिन सकिने कम्पनीले जनाएको छ । सदस्यता फारम भरेर कुपन लिएकाहरुका लागि रेमिटयान्स कम्पनीले साथमा दुईहजार येन समेत उपहार स्वरुप प्रदान गर्नेछ ।

'नेपालीहरूले जापानबाट सिधै सिद्धार्थ बैंकमा खाता खोल्न,रकम जम्मा गर्न र रेमिट्यान्सको सुविधा लिन सक्नुहुनेछ' ,बैंकका जापान प्रमुख बाबुराम भण्डारी भन्छन्, 'जापानमा बसोबास गर्ने नेपालीले नेपालमा व्यापार व्यवसाय गर्न वा घर बनाउन ऋण चाहियो भने पनि यहीं बाट प्रक्रिया अगाडी बढाउन सकिन्छ।'

'नयां कार्य प्रारम्भ गरेको अवसरमा जापानबासी नेपालीहरूलाई हाम्रो एउटा सानो कोसेली हो यो सांगीतिक कार्यक्रम',अर्का संचालक सुदन थापाले भने 'हामीले उपलब्ध गराउने बैंकिंग सेवाहरुले जापानबासी नेपालीहरू लाभान्वित हुने कुरामा ढुक्क छौं।'

जापानको नेपाली समुदायका चर्चित रेष्टुरेन्ट व्यवसायी बाबुराम भण्डारी, आईटि ईन्जिनियर मेघराज नेपाल तथा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष तथा व्यवसायी सुदन थापा लगायतको सकृयतामा जापानको टोकियोमा संचालन हुन लागेको सिद्धार्थ बैक तथा सिद्धार्थ रेमिटको सेवाबाट जापानबासी नेपालीहरू थप लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको छ ।

प्रकाशित: २६ चैत्र २०७२ १०:२६ शुक्रबार