प्रवास

'अवैध सन्तान'का कारण राष्ट्रपति विवादमा

जोहनेसबर्ग, माघ २० (एजेन्सी) - दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकी नेसनल कांग्रेस(एएनसी)ले बिहेइतर सम्बन्धबाट जन्मिएको सन्तानसम्बन्धी दाबीमा राष्ट्रपति जाकोब जुमाको प्रतिरक्षा गरेको छ।

एएनसीले जुमाले कुनै पनि कानुन नतोडेको र दुई व्यक्तिबीचको सम्बन्ध 'बेइज्जतपूर्ण' कार्य नभएको बताएको छ। प्रतिपक्षी दल तथा समाचारपत्रहरूले भने एचआइभी एड्ससँग लडिरहेको देशका लागि जुमाले खराब सन्देश दिएको बताए।

एक सांसदले जुमालाई 'यौन लत'बाट छुटकारा पाउन उपचारको सल्लाह दिएका छन्। सांसद केनेथ मेसुले 'टाइगर उड्स'ले जस्तै जुमाले पनि सहयोग पाउनुपर्ने दाबी गरेका छन्।

दक्षिण अफ्रिकाकी समाचारपत्र सन्डे टाइम्सले तीन वटा श्रीमती भएका राष्ट्रपति जुमाको सोनोनो खोजा नामकी महिलासँगको बिहेइतर सम्बन्धबाट एउटा छोरी जन्मिएको समाचार प्रकाशित गरेको छ। ३९ वर्षे सोनोनो सन् २०१० को विश्वकप फुटबलको आयोजक समितिका प्रमुख इर्भिन खोजाकी छोरी हुन्। जुमाको २० औं सन्तान सन् २००९ अक्टोबर ८ मा जन्मेको थियो।

६७ वर्षे जुमाले गर्भवती बनाएकोमा परम्परागत क्षतिपूर्ति तिरेका छन्। यसले उक्त बालक उनकै सन्तान रहेको पुष्टि भएको छ। दक्षिण अफ्रिकामा बिहे नगरेकी महिलाबाट सन्तान भए ती महिलाका परिवारलाई क्षतिपूर्ति 'इन्हलावुलो' दिने सांस्कृतिक चलन छ।

जुमाले अहिलेसम्म यस विषयमा कुनै टिप्पणी गरेका छैनन्। तर सोमबार एएनसीले एउटा विज्ञप्ती जारी गर्दै चलाखीपूर्ण रूपमा राष्ट्रपति सो शिशुको पिता भएको पुष्टि गरेको छ र यो विषयलाई व्यक्तिगत रूपमा लिनु पर्ने बताएको छ।

'हाम्रो धारणा के हो भन्ने सञ्चारमाध्यम र केही राजनीतिक विश्लेषकले नहुने कुरालाई पहाड बनाइरहेका छन्,' ज्याकसन एमथेम्बुले भने, उनले भने, 'दुई वयस्कबीचको सम्बन्धलाई किन मुद्दा बनाइदैछ? किन समाचार शीर्षक बनाइँदैछ? केही सञ्चारमाध्यमले 'राष्ट्रकै लज्जा' भनेर टिप्पणी गरेका छन्?'

एमथेम्बुले राष्ट्रपतिका आलोचना 'अविवेकीपन' भएको बताए। उनले भने- 'राष्ट्रपतिले केही गल्ती गरेका छैनन्। दुई वयस्कबीच सम्बन्धमा 'लज्जापूर्ण' भन्ने कुरा आउँदैन।'

ती प्रवक्ताले एनएनसीले एचआइभी एड्स नीति र जुमाको व्यक्तिगत जीवनमा कुनै सम्बन्ध नदेखेको बताए। दक्षिण अफ्रिका विश्वमै सबैभन्दा धेरै एचआइभी संक्रमित भएको मुलुक हो। त्यहाँ ५० लाखभन्दा बढी एचआइभीबाट संक्रमित छन्।

गत वर्ष जुमाले देशको एड्स नीतिमा परिवर्तन गर्ने घोषणा गरेपछि उनको व्यापक प्रशंसा भएको थियो। प्रतिपक्षी दलले भने एचआइभी रोकथामसम्बन्धी सरकारी दृढतासँग उनको व्यवहार बाझिएको बताएका छन्। उनीहरूले सुरक्षित यौन सम्पर्क तथा धेरै व्यक्तिगत यौन सम्पर्क नराख्ने कुरासँग जुमाको व्यवहार नमिलेको बताएका छन्। 'यसले के सन्देश दिएको छ भने, मैले गरे जस्तो नगर, भने जस्तो गर', इन्डिपेन्डेन्ट डेमोक्र्याटका नेता प्याटि्रक डे लिलेले भने।

जुमाका यौनजीवन चर्चामा आएको पहिलो पटक होइन। सन् २००६ मा जुमाले बलात्कार आरोपबाट सफाइ पाएका थिए। त्यसबखत एचआइभी पोजेटिभ महिला भएको थाहा हुँदाहुँदै पनि असुरक्षित यौन सम्पर्क राखेर गल्ती गरेको उनले स्वीकारेका थिए। ती महिला पनि जुमाको साथीकी छोरी थिइन्।

जुमाले पाँच पटक बिहे गरेका छन्। उनले गत महिना मात्रै पाँचौं बिहे गरेका थिए। राष्ट्रपति कार्यालयका अनुसार उनका १९ वटा सन्तान छन्।


जुमाका श्रीमतीहरू
- थोबेका मादिवा जुमा - सन् २०१० जनवरीमा
- नोम्पुमेलेलो एनटुली - सन् २००८ जनवरीमा बिहे
- सिजाकेला खुमालो - सन् १९७३ बिहे
- गृह मन्त्री एकोसाजाना डिएलमिनी जुमा - सन् १९९८ मा सम्बन्ध विच्छेद।
- केट मानटोस जुमा - सन् २००० मृत्यु।

प्रकाशित: १९ माघ २०६६ २२:५५ मंगलबार