प्रवास

साउदीमा नेपालीको मृत्यु

दमाम (साउदी अरब)— स्वदेश फर्कने तयारीमा रहेका एक नेपाली युवाको साउदी अरबमा ज्यान गएको छ। कोठाभित्रै लडेर टाउकोमा गम्भीर चोट लागेका दाङ, पुरनधारा–५ का ३७ वर्षीय प्रेमबहादुर वलीको उपचारका क्रममा बुधबार ज्यान गएको हो।काममा गएका साथीहरु साँझ फर्केर कोठामा आउँदा उनी कोठाभित्रै लडेको अवस्थामा देखेपछि उपचारका लागि अस्पताल लगिएको थियो।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको उनका आफन्त मानदेवी केसीले बताए। वलीको शव अहिले इस्टर्न अस्पताल खोबारमा राखिएको र उनको घरपरिवारलाई जानकारी गराइएको केसीले बताए।

पायल्स रोगले ग्रस्त बनेका वलीले एक महिनाअघि पायल्सको शल्यक्रिया गरेका थिए। पायल्सको शल्यक्रियापछि पनि वलीलाई निको नभएपछि कोठामै थला परेका थिए। उनी छ वर्षदेखि दमामको सनैयास्थित अल रसिद कम्पनीमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिए।

मृतक वलीको परिवारमा वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनी तीन महिनापछि स्वदेश फर्कने तयारीमा रहेका थिए।

प्रकाशित: ४ चैत्र २०७२ ०२:२१ बिहीबार