प्रवास

स्वीडेनमा कविता महोत्सव

काठमाडौं– स्वीडेनमा आइतबार स्टकहोल्म नेपाली कविता महोत्सव सम्पन्न भएको छ । स्वीडेनस्थित नेपाली संस्था नेपाल मण्डप (नेपाली कल्चरल एसोसियसन अफ स्वीडेन)को आयोजनामा भएको कार्यक्रमको उद्घाटन कवि दिनेश अधिकारीले नेपालबाट स्काइपमार्फत् आफ्नो रचना सुनाएर गरेका थिए।


महोत्सवमा नेपालकै कविहरु कुमार नगरकोटी, मनु मञ्जिल, श्यामल, बिमला तुम्खेवा, सुदीप पाख्रिन, विप्लव प्रतीक, हेमन यात्री, प्रदीप म्याग्वो, देवान किराती, फूलमान बल, राजेश बिद्रोही र सन्तोष थेबेले भिडियोमार्फत् कविता वाचन गरे ।

त्यसैगरी अमेरिकाबाट दीपा राई पुन, इजरायलबाट भगवती बस्नेत, साउदी अरबबाट महेश श्रेष्ठ, नाइजेरियाबाट हिक्मत बस्नेत र बेलायतबाट गोपी सापकोटा र कृष्ण बजगार्इंले पनि भिडियोमार्फत रचना सुनाए ।

कार्यक्रमस्थलमा प्रत्यक्ष रचना वाचन गर्नेमा चाहिँ स्वीडेनस्थित शैलेश उपाध्याय, शिवकुमार चौलागार्इं, ब्रिजेश मैनाली र हेम रोकाय थिए । स्वीडेन निवासी नेपाली नाट्यकर्मी सुवास अधिकारीले आफ्नो निर्देशनमा कवि विप्लव ढकालद्वारा लिखित कविता 'म अज्ञात सहिद आएको छु'लाई नाटकका रुपमा मञ्चन गरेका थिए । नाटकमा उचित सिग्देल, ज्ञानु भण्डारी, दीप शर्मा, सोमा थापा अधिकारी, केशब प्याकुरेल, सुजाता चिमरिया संग्रौलालगायतले अभिनय गरेका थिए ।

दिवंगत भइसकेका केही नेपाली कविहरुको फोटो प्रदर्शनी समेत गरिएको महोत्सवका लागि नेपालबाट रंगकर्मी घिमिरे युवराज र नवीन मेन्याङ्बोले कविता वाचनका भिडियो निर्माण गरी पठाएका थिए ।

प्रकाशित: १९ फाल्गुन २०७२ ०५:१८ बुधबार