जापानबासी नेपालीहरूमाथि आइपर्ने आपतकालीन समस्या समाधानको लागी ५ करोड येनको राहत कोषको स्थापना गर्ने उद्देश्यले एनआरएनए जापानले आयोजना गर्न लागेको सो कार्यक्रममा नायिका प्रियंका कार्कि, नेपाली क्रिकेट टीमका कप्तान पारस खड़का, लोकगायक बमबहादुर कार्की, नरेन्द्र कंशाकार, यमन श्रेस्ठ, मोहित आचार्य लगायत चर्चित कलाकर्मीहरूको सहभागिता रहनेछ।
डिसेम्बर २० तारिखमा टोकियोको नाकानो स्थित जीरो हलमा ४ बजेबाट शुरू हुने उक्त कार्यक्रममा सहभागी हुन अयोजकले अनुरोध गरेका छन्। 'कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष रूपमा मनोरञ्जन लिनूहुनेछ भने अप्रत्यक्ष रूपमा त्यो उहाँहरूको समाजसेवा पनि हो', एनआरएनए जापानका अध्यक्ष सुदन थापाले नागरिकन्युँजसँग भने, 'कोष स्थापना भएपछि जापानबासी नेपालीहरूलाई पर्ने आपतकालीन समस्या समाधान गर्न निकै सजिलो हुनेछ।'
जापानमा नेपालीको संख्यामा वृध्दि भएसँगै उनीहरूका विभिन्न समस्या पनि बढ्न थालेका छन्। नेपालीको सुखदुखमा बलियो उपस्थिति जनाउन एनआरएनएले राहत काेष स्थापनाकाे पहल गरिरहेकाे हाे।
चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रस्तुतिमा उपस्थित भइ मनोरञ्जनका साथ सहयोगको लागि एनआरएनए जापानले विभिन्न संघ संस्था, जापानमा रहेका नेपाली समुदायमा आग्रह गरेको छ।
प्रकाशित: ८ मंसिर २०७२ २३:१७ मंगलबार