प्रवास

डिसी मेट्रो क्षेत्रमा नयाँ संविधानको स्वागत

मनासस(भर्जिनिया)– गैरआवासीय नेपाली संघ(एनआरएन) भर्जिनियाले नेपालको नयाँ संविधानको स्वागत गरेको छ।

एनआरएन भर्जिनियाको समन्वयमा भर्जिनिया राज्यमा क्रियाशील विभिन्न संस्थाले संयुक्त रुपमा मनाससस्थित सिग्नल हिल पार्कमा संविधानको स्वागतमा दीपावली गरेका हुन्। नेपाली आकंक्षाअनुसारको संविधान जनताका प्रतिनिधिले निर्माण गरेको खुसीमा दीपावली गरिएको एनआरएन भर्जिनियाका अध्यक्ष मुक्ति दवाडीले बताए।

'सात दशकदेखि नेपालीले देखेको सपना साकार भएको उपलक्ष्यमा हामीले दीपावली गरेका हौं,' उनले भने । कार्यक्रममा एनआरएन आईसिसीका सल्लाहकार रामचन्द्र खरेलले नयाँ संविधानले गैरआवासीय नेपालीको नागरिकता पुनः प्राप्तिको सुनिश्चिता गरेकोले विदेशमा बसेका नेपाली खुसी भएको बताए। एनआरएनले नेपाली नागरिकताको माग गर्दै आएको थियो ।

कार्यक्रमलाई एनआरएन एनसिसि अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिमिल्सिनालगायतले सम्बोधन गरे।

प्रकाशित: ५ आश्विन २०७२ ०८:०३ मंगलबार