प्रवास

एनअारएन अध्यक्ष घलेद्वारा दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा

लन्डन—गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले पुनः अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। घलेले गैरआवासीय नेपाली संघ बेलायतको आयोजना बिहीवार साँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक विषेश समारोहबीच यस्ताे घोषणा गरेका हुन्।आगामी अक्टुवरको १४ देखी १७ सम्म काठमाण्डौंमा हुने सातौ विश्व सम्मेलनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा उनी पुनः अध्यक्ष पदमा उम्मेदवार बन्ने बताएका छन् ।

नेपाली दूतवास हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले विश्वभरी छरिएका गैरआवासीय नेपालीहरुको भावनाको कदर गर्दे आफूले अध्यक्ष पदको निरन्तरता दिन चाहेको' बिचार ब्यक्त गरे। उनको घोषणा अघि कार्यक्रममा बोल्दै बेलायतस्थित एमालेको भातृसंस्था प्रवासी नेपाली मन्चका अध्यक्ष रामशरण सिम्खडा, नेपाली कांग्रेसका युवा नेता विश्व आर्दश पण्डितले अध्यक्ष घलेलाई पुनः उम्मेदवारी घोषणा गर्न हलमै प्रस्ताव गरेका थिए। घलेले आफ्नो उम्मेदवारी घोषणा गर्दा कार्यक्रममा उपस्थित करिव २ सय ५० जनाले उठेर लामो समयसम्म ताली बनाएर स्वागत गरेका थिए।

घलेले कार्यक्रममा बोल्दै भने विश्वका विभिन्न मुलुकको भ्रमण गर्दा मलाई तत्कालै उम्मेदवारी घोषणा गर्न तीब्र दबाब परिरहेको थियो' तर 'एनआरएन अभियानको जननी मुलुक लण्डनबाटै यस्तो घोषणा गर्नु उपयुक्त ठानेँ ।' कार्यक्रममा गैरआवासीय नेपाली सँघका पूर्व प्रबक्ता डा हेमराज शर्माले गैरआवासीय नेपाली सँघले बिगत १२ बर्षमा गरेका बिविध गतिविधीका बारेमा चर्चा गरेका थिए।

घलेले आगामी कार्यकालमा पनि बिगतमा जस्तै आफ्नो सम्पूर्ण समय र स्रोत साधन एनआरएनएको विकाशका लागि लगाउने उनले प्रतिबद्धता जनाए पनि नयाँ कार्यक्रम भने अहिलेनै सार्वजानिक नगर्ने बताए।

'मैले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै विगत दुई वर्षमा जे जति सिकेको छु, त्यसलाई गैरआवासीय नेपाली समुदाय र मातृभूमीको हितमा खर्चिने छु', घलेले भने।

यतिबेला राष्ट्र पुनःनिर्माणको संघारमा रहेको, नयाँ संविधानपछि मुलुक नयाँ यात्रामा अगाडी बढ्न लागेको र यस्तो बेलामा गैरआवासीय नेपाली समुदायको दायित्व पहिलेभन्दा झनै बढेका कारण जिम्मेवारीलाई निरन्तरता दिन चाहेको उनको दावी थियो।

भूकम्प पीडितलाई घर निर्माण गरी राष्ट्र पुनः निर्माणमा साझेदार बन्ने, वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा स्थापित कल्याणकारी कोषलाई संचालनमा ल्याउने, भवन निर्माण लगायत संस्थाको दिगो विकालाई तीब्रता दिने र नेपालमा गैरआवासीय नेपालीको सीप र पूँजी लगानीलाई वृद्धि गर्ने कार्यमा आफ्नो अर्को कार्यकाल समर्पण गर्ने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रमुअ अतिति बेलायतका लागि कार्यबाह राजदूत तेज बहादुर क्षेत्रीले नेपाल सरकार गैरआवासीय नेपाली संघ सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बिचार ब्यक्ति गर्दै नेपालमा भूकम्पपछि गैरआवासीय नेपालीहरुले खेलेको भूमिका प्रति आभार ब्यक्त गरे। संघका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षमा भएको कार्यक्रम गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य कुल आचार्यले अगामी विश्व सम्मेलनमा आफुले यूरोप संयोजकमा उम्मेदवारी दिने घोषणा गरे।

सोही अवसर तमुधिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङले संस्थाको तर्फबाट भूकम्प पीडितका लागि संकलन भएको १ करोड ११ लाख रुपैयाँको चेक अध्यक्ष घलेलाई हस्तान्तरण गरेका थिए। घलेले कार्यक्रमको अन्त्य नेपाल पत्रकार महासंघ यूके शाखाको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले राखेका बिभिन्न जिज्ञासाहरुको जवाफ दिएका थिए। कार्यक्रममा नेपाली जनसम्पर्क समिति अध्यक्ष लोक गुरुङ, प्रगतिशिल नेपाली मन्चका अध्यक्ष पूर्ण लक्छम, गणेश इजम, डमर घले, डासु पाण्डे लगायतले बोलेका थिए। घलेको मन्तब्य सुन्न बेलायतस्थित गैरआवासीय नेपालीहरु मध्य रात सम्म नेपाली दूतावासको हलमा बसेका थिए। यूरोका बिभिन्न देशको भ्रमण सकेर बिहीवार बेलायत आएका घले शुक्रबार बिहान नेपाली फर्किने कार्यक्रमतय भएको एनआरएन यूकेले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७२ ०३:४६ शुक्रबार