यो ऐतिहासिक खुसीको क्षणमा सम्पूर्ण नेपाली जनतामा हार्दिक बधाई ज्ञापन गर्दै मुलुकको सम्बृद्धि र प्रगतिका लागि संघले शुभकामना समेत दिएको छ।
'नयाँ संविधान जारी भएसँगै अब मुलुकले राजनीतिक स्थितरता पाउने र आर्थिक सम्बृद्धिको युग सुरुवात हुने हामीले बिश्वास लिएका छौं,' अध्यक्ष घलेले भनेका छन्, 'मातृभूमिको सम्बृद्धिमा योगदान दिन विदेशमा सिकेको सीप र पूँजी भित्राएर लगानी गर्ने हाम्रो झण्डै एक दशकदेखि अथक प्रयासले पनि अब सार्थकता पाउने हाम्रो विश्वास छ।'
गैरआवासीय नेपालीले लामो समयदेखि माग गर्दै आएको 'नेपाली नागरिकताको निरन्तरता'को मागलाई सम्बोधन गर्दै नयाँ संविधानले गैरआवासीय नेपाली नागरिकताको प्राबधान पारित गर्नु गैरआवासीय नेपालीहरुका लागि अर्को खुसीको बिषय भएको अध्यक्ष घलेले उल्लेख गरेका छन्। 'यसका लागि म सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई हार्दिक बधाई ज्ञापन गर्दै यसलाई साकार पार्न योगदान गर्नुहुने गैरआवासीय नेपाली अभियन्ताहरु, सभासदज्यूहरु, राजनीतिक नेतृत्व एवं सम्पूर्ण सहयोगीहरुमा हार्दिक आभार प्रकट गर्दछु,' अध्यक्ष घलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
एनआरएनको चाहना बमोजिम नेपाल सरकारले नागरिकताको ब्यवस्था गरिसकेको अवस्थामा अब गैरआवासीय नेपालीको काँधमा आफूले गरेका वाचा पुरा गर्ने र नेपालमा सीप र ज्ञानको लगानी बढाउने दायित्व आएको उनले सम्पूर्ण एनआरएन समुदायलाई स्मरण गराए।
'नयाँ संविधान जारी हुने दिन नेपालको इतिहासमा नयाँ बिहानी सावित होस्, यसले मुलुकमा स्थायित्व र सम्बृद्धिको ढोका खोलोस् भनी हामी हार्दिक शुभकामना ब्यक्त गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: ३१ भाद्र २०७२ ००:४२ बिहीबार