प्रवास

एनआरएनए मकाउमा मुकेश बरुवाल

हङकङ–गैर आवासीय नेपाली संघ मकाउको अध्यक्षमा मुकेश कुमार बरुवाल चयन भएका छन् । गत साता भएको चौथो अधिवेशनलाई निरन्तरता दिँदै आइतबार बसेको भेलाले बरुवालको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले राजेश प्रसाइ र रमेश कुमार श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ भने महासचिवमा शीव थापा आएका छन् । त्यस्तै कर्ण बहादुर अधिकारी सचिव र उद्धव कुँवर कोषध्यक्षमा चयन भएका छन् । मकाउ एनआरएनएबाट एक मात्र अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा शान्तिदेवी अधिकारी चयन भएकी छन् । अधिवेशनले युवा संयोजकमा पूर्ण बहादुर गुरुङ र महिला संयोजकमा छोरीमैयाँ श्रेष्ठ तथा सदस्यहरूमा खेम बहादुर तामाङ, जीवन कार्की, शैलेन्द्र श्रेष्ठ, खम्वराज केसी, कुमारी सुव्वा, गोपाल दर्लामी र श्याम बहादुर जीसी चयन गरेको छ।

अतिथिको रुपमा अधिवेशनमा सहभागी भएका एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार त्रिलोक गुरुङका अनुसार गत साता विवादको कारण रोकिएको नेतृत्व चयन यसपटक सर्वसम्मत रुपमा भएको हो । ढिलो भए पनि सहमतीमा नेतृत्व चयन गरेर मकाउले उदाहरण पेश गरेको गुरुङले बताए । अधिवेशनमा एनआरएनए हङकङका अध्यक्ष ललित लिम्बु पनि सहभागी भएका थिए ।

चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा करिब चार हजार नेपाली रोजागरको क्रममा बस्दै आएका छन् । एसियाको प्रमुख क्यासिनो गन्तव्य मकाउको व्यावसायिक सुरक्षा मुख्यतः नेपालीको हातमा छ । नयाँ अध्यक्ष बरुवालले मकाउमा कार्यरत चार हजार नेपालीलाई साथमा लिएर उनीहरूको हितमा संस्थालाई सक्रिय गराउने बताए ।

प्रकाशित: २८ भाद्र २०७२ ०५:४५ सोमबार