प्रवास

एनआरएनए जापानमा तीन थापा भिड्दै

काठमाडौं— गैर आबासीय नेपाली संघ (एनआरएनए), जापानको निर्वाचन आइतबार हुने भएको छ। आगामी दुई वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ।निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार अध्यक्षमा पदका लागि तीन जना थापाले उम्मेदवारी दिएका छन् । सेप्टेम्बर ६ तारिखमा (भदौ २० गते) हुने निर्वाचनमा अध्यक्ष पदका लागि सुदन थापा, नरबहादुर थापा र चिरञ्जिवी थापाको उम्मेदवारी परेको हो।

यसैगरी, तीन वटा उपाध्यक्ष पदमा ऋद्धिन्द्र गिरी शंकर, संगीता अधिकारी, देवीलाल भण्डारी, टासीवाङदी लामा र टंकप्रसाद गैरेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। समितिले उपलब्ध गराएको जानकारी अनुसार चार सदस्यीय आईसीसीमा निवर्तमान अध्यक्ष पारसमणी पोखरेल, तुल्सीराम खरेल, कपीलदेव थापा, केशरकुमार गिरी र अजिव गुरुङ ओमको उम्मेदवारी परेको छ ।

महासचिवमा अनुज थापा र सरोजकुमार खत्री, सचिवमा बुद्धिप्रसाद घिमिरे र विष्णु घिमिरे, कोषाध्यक्षमा दीपक थापा, राजेन्द्र श्रेष्ठ र प्रेमप्रसाद कँडेलले उम्मेदवारी दर्ता गरेका छन्। पाँच वटा सदस्य पदका लागि नारायणप्रसाद अघिकारी, राम थापा अनिल, राजु केसी, सविता श्रेष्ठ, टिकाराम खरेल, श्री भक्त गुरुङ, नन्दलाल गैरे, ध्रुव वस्नेत, कृष्णप्रसाद खरेल, विजय कार्की, तिर्थनाथ सापकोटा र डिलालाम सापकोटाको उम्मेदवारी परेको समितिले जनाएको छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले आ–आफ्नै मत सर्वेक्षण नतिजा सार्वजनिक गरिरहेका छन्। स्वतन्त्र उम्मेदवारका रुपमा अध्यक्षमा उठेको दाबी गरेका सुदन थापा एनआरएनएको जिम्मेवारी युवापुस्तालाई दिनुपर्ने बताउँछन्। जापानका विभिन्न संघसंस्थाले गरेको सर्वेक्षणका क्रममा अग्रस्थानमा देखीएका सुदन एनआरएनएलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउँछन् ।

यस्तै सर्वेक्षणका क्रममा अगाडी नै देखिएका उपाध्यक्षका उम्मेदवार ऋद्धिन्द्र गिरी शंकर जापानमा झण्डै ५० हजार नेपाली रहे पनि जम्मा ४ हजारका हाराहारीमा मात्र सदस्य रहेकाले सबैलाई एकताबद्ध गर्दै साझा संस्था बनाउनु पर्नेमा जोड दिन्छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार जापानका विभिन्न १२ क्षेत्रमा निर्वाचन केन्द्रहरु तोकिएको छ। करिब ४३ सय सदस्यले आफूलाई पायक पर्ने क्षेत्रमा गएर निर्वाचनमा भाग लिन सक्नेछन्।

प्रकाशित: १८ भाद्र २०७२ ००:१७ शुक्रबार