प्रवास

स्कटल्याण्ड संसद अगाडि भूपू गोर्खाको विरोध प्रदर्शन

लण्डन–भूपूगोर्खा संगठन मध्यको एक गोर्खा सत्याग्रह संर्घष समितिले स्कटल्याण्डको संसद भवन अगाडी विरोध प्रदर्शन गरेको छ । बेलायती सैनिक सेवामा समान पेन्सन सुविधा र अधिकारका लागि संघर्षरत समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । विरोध प्रर्दशनमा करिब २ सयजना भूपू गोर्खाको सहभागिता थियो ।

बुधबार मध्यान्हदेखि संसद भवनबाहिर जम्मा भएका प्रदर्शनमा सहभागीले आफूहरुलाई बेलायत सरकारले भेदभाव गरे भन्दै समान पेन्सन र अधिकारको माग गर्दै प्लेकार्ड देखाएका थिए । प्रदर्शनीमा स्कटल्याण्डको राजनीतिक दल स्कटिस नेश्नल पार्टी, यूके आइपीका प्रतिनिधिले भूपू गोर्खाले उठाएका मागप्रति चासो देखाएको संघर्ष समितिका उपसंयोजक सूर्य नेम्वाङले बताए ।

सत्याग्रह समितिले नेपाल—बेलायत सम्बन्धको २ वर्ष पुगेको अवसरमा आयोजना हुने सबै कार्यक्रमको बिरोध र बहिस्कार गरेको छ । विरोध प्रदर्शनीमा सहभागीले स्कटिस सांसदहरुलाई भेटेर आफ्ना माग समेटिएको ५ बुँदे ज्ञापन पत्रसमेत बुझाएका थिए ।

ज्ञापनपत्रमा भूपू गोर्खालाई बेलायती सैनिक सरह समान पेन्सन र अधिकार हुनुपर्ने, पेन्सनपछि स्वाथ्य उपचारको व्यवस्था हुनुपर्ने, भूपू गोर्खाका १८ वर्ष भन्दामाथिका सन्तानलाई बेलायत सरकारले आवासीय भिसाको व्यवस्था गर्नुपर्ने जस्ता माग राखेका थिए ।

प्रकाशित: २८ श्रावण २०७२ ००:५३ बिहीबार