प्रवास

अमेरिकामा उद्धार तथा राहत टोलीलाई सम्मान

वाशिंटन डिसी— नेपालमा गएको प्रलयकारी भूकम्पका पीडितहरूको राहत तथा उद्धार कार्यमा खटी अमेरिका फर्किएको फेयर फ्याक्स काउन्टी अर्वान सर्च एन्ड रेस्क्यू टोलीलाई यहाँ सम्मान गरिएको छ। डिसी मेट्रो क्षेत्रस्थित मनासस सिटीमा आयोजित एक समारोहमा, उद्धार कार्यमा खटिएका तीन कुकुरसहित टोलीका सदस्यहरूलाई सम्मान गरिएको हो।

 

उनीहरूलाई नेपाली ढाका टोपी लगाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो। अमेरिका नेपाल सहयोगी समाजले आयोजना गरेको सम्मान कार्यक्रममा रेस्क्यू टोलीका सदस्यहरूले २१ दिनसम्म उद्धारमा खटिँदाको अनुभव सुनाएका थिए।

कार्यक्रममा भर्जिनिया राज्यका डेलीगेट बब मार्सल र कंग्रेस म्यान रब विट्म्यानलाई पनि सम्मान गरिएको थियो। उनीहरूले नेपाली समुदायसँग भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै समुदायको हितका लागि आफूहरूको साथ सहयोग सधैँ रहिरहने प्रतिबद्धता जनाएका थिए। दुई चरण विभाजित कार्यक्रममा सहयोगी समाजको नयाँ कार्य समितिको घोषणा र पदभार हस्तान्तरण समेत गरिएको थियो। निवर्तमान अध्यक्ष सागर कँडेलले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष पदम रेग्मीले नेपाली समुदायको हितमा लागिपर्ने प्रण गरेका थिए।

कार्यक्रमको अन्तमा भूकम्प पीडितका लागि उठाएको साढे ३२ हजार डलर नेपाली दूतावासका उप नियोग प्रमुख ऋषिराम घिमिरेलाई हस्तान्तरण गरिएको थियो । समाजले यसअघि संकलित करिब ४० हजार डलर नेपाल लगी भूकम्पका घाइतेहरूको उपचारमा खर्च गरिसकेको छ ।

प्रकाशित: ३ असार २०७२ २३:४७ बिहीबार