प्रवास

दलाई लामाले बेलायतका नेपालीलाई प्रवचन दिने

लन्डन- बुद्ध धर्म गुरु तथा आध्यात्मिक नेता दलाइ लामाले बेलायतका नेपाली समुदायलाई प्रवचन दिने भएका छन्। जुन २९ मा आयोजना गरिएको उक्त प्रवचन २१ औं शताव्दीमा बौद्ध धर्मको महत्वकाबारे हुने बुद्धिष्ट कम्युनिटी सेन्टर यूके (बीसीसी यूके) ले जनाएको छ।
बीसीसी यूकेको बिशेष निमन्त्रणामा बेलायत आउन लागेका लामाले अल्डरशट फुटवल स्टेडियमा प्रवचन दिन कार्यक्रम तय गरिएको बीसीसी यूकेका प्रवक्ता मेजर (रि) डमर घलेले बताए।
प्रवचनबाहेक आध्यात्मिक गुरु लामा नेपालमा भूकम्पले मृत्यू भएकाको सम्झनामा आयोजना गरिएको विशेष प्रर्थानासभामा समेत सहभागी हुनेछन्। कम्युनिटीको सक्रियतामा करिब ६ करोड रुपैयाँको लागतमा खरिद गरिएको बौद्ध गुम्बा भवनको औपचारिक उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको प्रवक्ता घलेले बताए।
६ हजारभन्दा बढी श्रोता सहभागी हुने अपेक्षा गरिएको सो कार्यक्रमबाट उठेको रकमको केही अंश भूकम्प पीडित क्षेत्रको पुनर्निर्माणमा खर्चिने बताइएको छ।
धर्म गुरु लामाले सन् २०१२ जुन महिनामा आयोजित यस्तै प्रवचनमा बोल्दै बुद्ध कहाँ जन्मेका हुन भन्ने प्रश्न महत्वपूर्ण नभएको तर बुद्धले दिएको दर्शन महत्वपूर्ण भएको विवादस्पद अभिव्यक्ति दिएका थिए।
सन् २००९ देखि बेलायतस्थित नेपाली बुद्ध धर्मवलाम्बीसँग सुमधुर सम्बन्ध स्थापना गरेका लामाले बीसीसी यूकेको गुम्बालाई करिब ३० लाख रुपैयाँ बराबरको वौद्ध धर्म ग्रन्थ उपहार दिएका थिए।

प्रकाशित: २ असार २०७२ ०६:३७ बुधबार