प्रवास

डेनमार्कमा सहयोग संकलन सुरु

कोपनहेगन-नेपालमा गएको बिनासकारी भूकम्पपीडितका लागि डेनमार्कमा सहयोग संकलन सुरु भएको छ।यस क्रममा डेनमार्कमा रहेका नेपालीसहित नेपाली राजदूतावास, एनआरएन डेनमार्क र नेपाललाई सहयोग गरिरहेका डेनिस नागरिक र संघ–संस्थाले गत बिहीबार साँझ सहयोग संकलन र मृतकको सम्झनामा शापन्तिदिप प्रज्ज्वलन पनि गरेका थिए।

कोपेनहेगनको मुटुमा रहेको राडुसप्लाड्सनमा सम्पन्न कार्यक्रममा डेनमार्कमा बस्ने नेपालीले स्वदेशमा ज्यान गुमाएका आफन्तको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा मृतात्माको चिरशान्ति र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

दिप प्रज्ज्वलन कार्यक्रमको सुरुवात डेनमार्कका लागि नेपाली राजदूत मुक्तिनाथ भट्ट र डेनमार्कका विकास तथा प्रवर्धन मन्त्री मोगेस योंसनले गरेका थिए। कार्यक्रममा डेनमार्कका लागि भारतीय राजदूत निरज श्रीवास्तव, चीनका राजदूत लिउ बिवी, पाकिस्तानी राजदूतावासका प्रतिनिधि मोदासरले मृतात्माको चिर शान्तिको लागि प्रार्थना गरेका थिए। शान्तिदिप र प्रार्थना गर्न ठूलो संख्यामा डेनमार्कमा बस्ने नेपाली आएका थिए।

सो अवसरमा बोल्दै डेनमार्कका विकास तथा प्रवर्धन मन्त्री मोगेस योंसनले नेपालीले बेहोरेको यो दुःखले आफूलाई स्तब्ध बनाएकोले समबेदना प्रकट गर्न कार्यक्रममा सरिक भएको बताए।

उनले दुःखको सामना गर्न सघाउने उद्देश्यले डेनिस सरकारले तत्काल सहयोग घोषणा गरेको बताए। उनले युनिसेफसँग मिलेर भूकम्पपीडित बालबालिकाको शिक्षा र स्वास्थमा समेत डेनमार्कले सहयोग गर्ने बताए।

डेनमार्कका लागि नेपाली राजदूत मुक्तिनाथ भट्टले बिनासकारी भूकम्पले पुर्याकएको क्षतिबाट सम्पूर्ण नेपाली नागरिक विक्षिप्त बनिरहेको बेला डेनिस नागरिकबाट समेत सक्दो सहयोगको अपेक्षा गरिएको बताए।

प्रकाशित: २० वैशाख २०७२ ०६:२१ आइतबार