प्रवास

भुकम्प राहतकोषमा आईएमइ दाजुभाईको दुई करोड सहयोग

क्वालालम्पुर (मलेसिया)- विश्वका अधिकांस मुलुकबाट रेमिट्यान्स सेवा दिदै आएको आईएमईका सञ्चालक दाजुभाईहरुले व्यक्तिगत तर्फबाट भुकम्प पीडितको उद्धार र सहयोगका लागि दुईकरोड रुपैयाँ राहतकोषमा हस्तान्तरण गर्ने घोषणा गरेका छन्। 

आईएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र आइएमइ ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाललले उक्त घोषणा गरेका हुन्। मलेसियास्थित आईएमइको कार्यालयमा नागरिकन्यूजसंगको भेटमा प्रबन्ध निर्देशक हेमराज ढकालले नेपालमा भएको भुकम्पका पीडितको राहत तथा उद्धारका लागि यो रकम तत्कालै उपलब्ध गराईने बताए।

ढकालले बेग्लै आईएमइ राहत कोष समेत स्थापना गरिएको जानकारी दिए। 'अहिलेको यो सहयोग हाम्रो व्यक्तिगत हो,' ढकालले नागरिकन्यूजसंग भने 'विश्वभरका शाखाहरुको समन्वयमा राहत कोष संकलनको कार्यमा जुट्ने कार्य सुरु भएको छ। हामीले विश्वभरका शाखाहरुलाई राहतकोष संकलनका लागि सक्रिय पार्ने निर्णय लिएका छौं।'

उनले राष्ट्रिय र अन्तराष्ट्रिय तहका संघसंस्थाहरुसंग मिलेर संयुक्तरुपमा पीडितलाई प्रत्यक्ष राहत हुनेगरी सहयोग नेपाल पठाउने बताए। आईएइले आफ्ना ग्राहकलाई सहज हुने र उद्धार तथा राहात रकम नेपाल पठाउन सहज हुने उद्देश्यले मलेसियालगायत अन्य देशहरुबाट समेत नेपालमा पैशा पठाउँदा सेवा शुल्क नलिने घोषणा गरेको ढकालले जानकारी दिए। राहत कोष संकलनका लागि मलेसियामा रहेका आईएमइका ६८ वटा शाखाहरुमा राहत कोष संकलन बाकसहरु राखिएका छन्।

त्यहाँ नेपालीहरुले अफ्नो सहयोग संकलन गर्ने क्रम सुरु भएको छ। मलेसियास्थित अन्य सहायोगी निकायहरुबाट समेत राहत संकलनका लागि पहल गर्ने ढकालले जानकारी दिए। संकलन भएको रकमलाई राहत कोषमा पठाइने उनले बताए।

प्रकाशित: १४ वैशाख २०७२ २३:४५ सोमबार