प्रवास

सुस्त मनस्थिती पुनर्स्थापना केन्द्रका लागि २ लाख संकलन

काठमाडौं– विदेशमा बस्दै आएका नेपालीहरुले काभ्रेको खरेलथोकमा रहेको सुस्त मनस्थिती पुनर्स्थापना केन्द्रमा पक्की भान्साघर निर्माणका लागि २ लाख रुपैयाँ स‌कलन गरेका छन्।

पक्की भवन निर्माणका लागि एनआरएनए स्पेन र नेपाली समुदायले चलाउँदै आएको नेपालीनेपाली डट कमको पहलमा एक सातामै भवन निर्माणका लागि आवश्यक पर्ने २ लाख रुपैया संकलन गरेको छ।
एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य दीपक खरेलले पक्की घर निर्माणका लागि २ हजार १ सय २९ युरो संकलन भएको बताएका छन्।
'अब पक्की भान्सा घर बन्ने नै भयो, पुनर्स्थापना केन्द्रका बालबालिकाहरुको अबस्थालाई हेरेर सहयोग गर्ने सबै प्रति आभारी छु,' खरेलले भने ।
आगामी हप्ता एकमुष्ठ रकम संकलन गरी हस्तान्तरण कार्यक्रमको आयोजना गरिने जानकारी खरेलले दिएका छन्। औपचारिक रुपमा रकम संकलन अभियानलाई टुंगाउने भए पनि ईच्छुकले हस्तान्तरण कार्यक्रमको अबधिसम्म सहयोग गर्न सक्नेछन्।
पुनर्स्थापना केन्द्रमा काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, मोरङ , धनुषा डोटीलगायतका जिल्लाहरुबाट २२ जना छात्र छात्राहरुले आश्रय लिँदै आएका छन् ।
खाना बनाउनका लागि बाँसले बारेको भान्सा कोठा रहेकोले त्यसलाई पक्की बनाउन सके केन्द्र संचालन गर्न सहज हुने भन्दै स्पेनबाट पहल गरिएको हो।
खरेलथोकस्थित भगवती उच्च माविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र’की शिक्षिका सुधा सिलवालको बिशेष पहलमा एक दशकदेखि केन्द्र संचालनमा आएको हो।

प्रकाशित: २१ चैत्र २०७१ ०३:३४ शनिबार