प्रवास

क्यानडामा नेपाली संगीत, नृत्य र योग कक्षा

एडमन्ट (क्यानडा)– क्यानडाको पश्चिम भेगीय प्रान्त अल्बर्टाको एडमन्टन सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो सामुदायिक संस्था नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन(नेकासे)ले नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली संगीत, नृत्य र योग कक्षा सञ्चालनमा ल्याएको छ। मार्च १४ का दिन संस्थाको कार्यालयमा 'नेपाली म्युजिक, डान्स एण्ड योग स्कुल' नाम दिइएको यो कार्यक्रमको उद्‌घाटन गरिएको छ।

 

नेकासेका अध्यक्ष कुश्माकर शर्मा र नेकासेको एउटा विभाग 'नेप्लिज कल्चर सेन्टर स्टेयरिंग कमिटी' अन्तर्गत 'धर्म संस्कृति' उपविभागकी संयोजक जया झाबाट स्कुल कार्यक्रमको नामअंकित सेतो पाटीको पर्दा सारेर स्कुल कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। सार्वजनिक विदाको दिन प्रत्येक आइतबार बिहान ९ देखि १२ बजेसम्म तीन घण्टा चल्ने यो कक्षामा योग, नृत्य र संगीत एकएक घण्टा सिकाइने स्कुलका गायन/बाद्यबादन प्रशिक्षक संगीतकार ईश्वर खत्रीले बताए।

अगस्ट २१ सम्म पाँच महिना चल्ने यो स्कुलमा २० डलर सुरुमा एकपटक भर्ना शुल्क र प्रति महिना एकमुष्ट अर्को २० डलर शुल्क तोकिएको छ।

स्कुल कार्यक्रमको संयोजकमा रेडियो नेपालमा गायकको परिचय बनाएका पुराना गायक राजेन्द्र सुबेदी रहेका छन् भने नृत्यप्रशिक्षकमा रोसन केसी, गायन/बाद्यबादन प्रशिक्षकमा राजेन्द्र सुवेदी र ईश्वर खत्री र योग प्रशिक्षकमा पतञ्जली योगपीठ हरिद्वारबाट दिक्षित पतञ्जली योगपीठ काठमाडौंका पूर्वमहामन्त्री समेत रहेका नारायण खनाल रहेका छन्।

कार्यक्रममा योगको महत्वबारे नारायण खनालले रोचक र उत्साहबर्धक मन्तब्य दिएका थिए।

उद्‌घाटन समारोहमा सभापतित्व गरेका स्थानीय सामाजिक संस्थामा कार्यरत सुरज खतिवडाले नेपाली संस्कृति र सम्पदालाई स्थानीयस्तरमा लैजान र पहिचान आर्जन गर्न स्थानीयस्तरमा सहकार्य गरेर र क्यानेडियन समाजभित्रै नपसी सम्भब नहुने कुरा बताए।

प्रकाशित: २ चैत्र २०७१ ०२:११ सोमबार