बेल्जियम- नेपालका राष्ट्रिय विभूति एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल उपर कतिपय देशका पाठ्यपुस्तकमा गलत जानकारी भएका कारण ती पाठ्यपुस्तक सच्याउने पहलका साथ लुम्बिनीको प्रचारप्रसार र प्रबर्द्धन अन्तर्राष्ट्रियस्तरमा गर्ने उद्देश्यले सन् २००९ देखि सञ्चालित लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले आगामी बुद्ध जयन्तीको पावन अवसरमा मे महिनाको ४-५ मा बेल्जियमको ब्रुसेल्समा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन तथा वर्ल्ड पिस मार्चको आयोजना गर्न गइरहेको छ।
उक्त सम्मेलनमा लुम्बिनी र कपिलवस्तुको पुरातात्विक उत्खननमा सक्रिय विश्वविख्यात विज्ञहरुले आ-आफ्ना अनुसन्धानात्मक कार्यपत्रहरु प्रस्तुत गर्नेछन्। साथै विभिन्न देशका प्रतिष्ठित प्रोफेसरहरुले मन्तव्य राख्नेछन्। दुई दिनसम्म चल्ने उक्त सम्मेलन ब्रुसेल्सको होटेल बेड्फोर्ड एण्ड कङ्ग्रेस सेन्टरमा गरिने तय भएको अभियानले जनाएको छ।
अभियानले अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रभावकारी र ऐतिहासिक बनाउने उद्देश्यले बेल्जियमस्थित नेपाली राजदूतावाससँग सहकार्य र सहयोगका लागि पत्राचार गरेपछि राजदूतावासका तर्फबाट अभियानलाई बैठकका लागि बोलाइएअनुसार २६ जनवरी २०१५ का दिन अभियानको प्रतिनिधित्व गर्दै अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य र राजदूतावासका तर्फबाट महामहिम राजदूत राममणि पोखरेल र सेकेन्ड सेक्रेटरी लक्ष्मण खनालबीच आपसी सहकार्य र सहयोग सम्बन्धमा राजदुतको कार्यकक्षमा सौहार्दपूर्ण बैठक सम्पन्न भयो।
सम्मेलनका लागि आवश्यक आर्थिक सहयोग जुटाउन नेपाल सरकारलाई अभियानले गर्ने अनुरोधलाई सिफारिस गर्दै अघि बढाउने र बेल्जियमस्थित विभिन्न देशका कूटनीतिक नियोगका राजदूतहरुलाई सम्मेलनमा अतिथिको रुपमा सहभागीताको लागि राजदूतावासले भूमिका खेल्ने विषयमा समेत बैठकमा सकारात्मक छलफल भएको थियो।
प्रकाशित: १८ माघ २०७१ ०७:४६ आइतबार