मेरिल्यान्डको प्रिन्स जर्ज अदालतले नेपालीहरूको छाता संगठन एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए)का अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा त्यस संस्थाको सदस्य नै नभएको ठहर गरेको हो। विवादित एएनएको निर्वाचन सम्पन्न गरी नयाँ पदाधिकारीको नाम सिफारिस गर्ने कार्यादेशसहित अदालतद्वारा गठित ट्रष्टीले त्यस प्रयोजनका लागि सदस्यहरूको नामवली माग गरेपछि, अन्तरिम अध्यक्ष शेर्पाले, आफूलगायत साढे पाँच सयभन्दा बढीको नाम बुझाएका थिए। तर, ती नाममाथि जाँचबुझ गर्दा आधिकारिक नभएको पाएपछि डानिएल ए लाप्लाका नेतृत्वको ट्रष्टीले उनीहरू सबैजना संस्थाको सदस्य नरहेको निचोड निकालेको थियो।
एएनमा नयाँ सदस्य बन्न र सदस्य भइसकेकाले नबीकरण गर्न वार्षिकरूपमा २० डलर तिरेको हुनुपर्ने नियम छ। यही नियमअनुसार ती साढे पाँच सयजना सदस्यले तिरेको सदस्यता शुल्कको 'बैंक रेकर्ड' पेस गर्न ट्रष्टीले भनेपछि यो रहस्य बाहिर आएको हो। साथै ट्रष्टीले नामसँगै पूरा ठेगाना, इमेल र फोन नम्बरसमेत माग गरेकोमा शेर्पाले कसैको नाममात्र, कसैको थरमात्र र कसैको नाम थर दुवै राखेर विवरण बुझाएका थिए। शेर्पाले कसरी संकलन गरे ती नामहरू? यसबारे जानकारी लिन उनलाई फोन गर्दा नेपाली टोनको अंग्रेजी भाषामा 'म त्यो मान्छे हैन, रङ नम्बर' भन्ने जवाफ पाइयो। यद्यपि एएनएका नवनिर्वाचित अध्यक्ष रजर अधिकारी, लामाले ती नामहरू कुनै 'मेल बैंक'बाट झिकेको शंका गर्छन्। अधिकारीले मुद्दा किनारा लाग्दै जाँदा एक पछि अर्को फर्जी प्रमाण पेस गर्न थालेपाछि शेर्पाको वकिलले उनी एएनए सदस्य नभएको लिखत आफूहरूलाई उपलब्ध गराएको पनि दाबी गरे।
शेर्पाको एएनए प्रवेश
एएनएको २०१० मा सम्पन्न बोष्टन सम्मेलनमा भएको घाटाको स्वतन्त्ररूपमा छानबिन गर्न शेर्पालाई छानबिन समितिको संयोजक बनाइएको थियो। तर, तत्कालीन अध्यक्ष सिमोन ढुंगानासँग मिलेर उनले ढुंगानाको कार्यकारी अधिकार आफैं लिएका थिए भने २०११ को डिसी सम्मेलनमा आफैंलाई अन्तरिम अध्यक्ष घोषणा गरे। त्यसपछि शेर्पाको एकल नेतृत्वबाट संस्थालाई मुक्त गर्न तथा अदालतको रोहबरमा यसअघि भएको सम्झौता कार्यन्वयन गराउन माग गदै पूर्व पदाधिकारीका तर्फबाट तत्कालीन उपाध्यक्ष रजर अधिकारीले प्रिन्स जर्ज अदालत, मेरिल्यान्डमा मुद्दा दायर गरे।
यस मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश निकोलसको एकल इजलासले निर्वाचनका लागि ट्रस्टीको नाम सिफारिस गर्न, तीस दिनभित्र निर्वाचनसम्बन्धी खाका पेश गर्न र ६० दिनभित्र नयाँ पदाधिकारीको नाम बुझाउन आदेश दिएको थियो।
अधिकारीले रिटमा, सोही अदालतका न्यायधीश लियो इग्रिनको आदेशअनसार ट्रस्टी अनुज सुदको रोहबर र तत्कालीन राजदूत डा. शंकर शर्माको उपस्थितिमा यसअघि भएको तीनबुँदे सहमति कार्यन्वयन नगरिएकाले 'अदालतको मानहानि भएको' जिकिरसमेत गरेका थिए। तीन बुँदामा वादी–प्रतिवादी र दूतावासका प्रतिनिधिसहितको त्रिपक्षीय समिति गठन गर्नुपर्ने, अविलम्ब निर्वाचन गराउनुपर्ने र संस्थाका गतिविधि र निर्णयहरूको एकप्रति अधिकारीलाई उपलब्ध गराउनुपर्ने भन्ने थियो।
यसैबीच आफ्नो कामको विरोध गरेको निहँमा शेर्पाले विभिन्न अभियोग लगाउँदै पत्रकारसहित बाह्र जना नेपालीलाई अमेरिकी अदालतमा फरकफरक मुद्दा हालेका थिए।
अध्यक्षमा अधिकारी
करिब चार वर्षपछि एकल नेतृत्वको अन्त्यसँगै एएनएमा सामूहिक नेतृत्व आएको छ। जसको अध्यक्षमा पूर्व उपाध्यक्ष रजर अधिकारी चुनिएका छन् भने उपाध्यक्षमा शम्भु ढुंगाना, महासचिव राधा बस्नेत, कोषाध्यक्ष गम्भीर श्रेष्ठ र सूचना निर्देशक डा. तुलसी जोशी छन्।
अदालतले पदाधिकारीका लागि उम्मेद्ववारी दिन विधिवत् आह्वान गरे पनि मुद्दाको विपक्षीमा कोही वैधानिक व्यक्ति नभएकाले प्रतीष्पर्धारहित निर्वाचन भएको थियो। निर्वाचन तालिकाअनुसार सदस्यता प्रमाणीकरण ३१ अगष्ट, सदस्यहरूको नामवाली प्रकाशन सेप्टेम्बर २, सदस्यमाथिको दाबीविरोध सेप्टेम्बर ५, अन्तिम नामवली प्रकाशन सेप्टेम्बर ७, नोमिनेसन सेप्टेम्बर ८, र उम्मेद्ववारको अन्तिम नाम सेप्टेम्बर २२ मा प्रकाशित गरिएको थियो। यसैगरी अनलाइन भोटिङ सेप्टेम्बर २३ देखि २६ सम्म, निर्वाचितहरूको घोषणा सेप्टेम्बर २९ र नयाँ पदाधिकारीलाई सपथ अक्टोबर ४ मा तय गरिएको थियो। भोटका लागि एएनका आजीवन सदस्यमात्र सहभागी भएका थिए। एएनएमा एक सय एक्चालीस जना आजीवन सदस्य छन्। पाँच सय डलर तिरेपछि आजीवन सदस्य हुने संस्थाको विधानमा उल्लेख छ।
प्रकाशित: २९ पुस २०७१ ०२:४८ मंगलबार