प्रवास

मलेसियामा पक्राउ नेपालीको वेदनाः छोराको मुखै नदेखी मर्छु कि!

क्वालालम्पुर (मलेसिया)— मनग्य पैसा कमाएर आफ्नो अनि भावी सन्ततिको सुनौलो भविष्य निर्माण गर्ने सपना बुनेर भर्खरै बिहे गरेकी श्रीमतीलाई छोडी मलेसीया आएका हापुर-२ दाङका श्याम भण्डारीको सपना अधुरै रह्यो।

 

दुई वर्षअघि मलेशीया आएका उनी कम्पनीले भने जस्तो तलब नदिएपछि अवैधानिक रुपमा काम गर्न थाले। कानुनी प्रक्रिया नपुर्या इ काम गरेका उनी पक्राऊ परे। त्यसपछि उनको धन कमाउने सुनौलो सपना चकनाचुर भयो। अहिले श्याम तीन महीनाको जेल जीवन बिताएर डिटेन्सन कयाम्पमा छन्। जेल अवधि भुक्तान गरेपछी यहाँको प्रहरीले विदेशी कामदारलाई डिटेन्सन क्याम्पमा राख्ने गर्छ। अनि आफैँले हवाई टिकट किनेर घर जानुपर्छ। तर, घरको आर्थिक अवस्था कमजोर भएका उनी हवाई टिकट किन्न नसकेर डिटेन्सन क्याम्पमा जीवन बिताइरहेका छन्।

नागरिकन्युजसँग भेटमा उनी घर नेपालमा रहेको परिवार सम्झेर भावुक भए। 'पैसा हुने जति नेपाल फर्कीसके। म यही छु', उनले सुनाए। उनको घरमा उमेर पाकेका आमाबुवा,?श्रीमती र नावालक छोरा छन्। घरको आर्थिक अवस्था निकै कमजोर रहेका कारण हवाई टिकट काटेर घर जना नसक्ने बताए। गहभरी आँशु झार्दै उनले नागरिकन्युजसँग भने,'मेरो घरमा कमाउने कोही छैन्। कमाउने एउटा म हुँ। मेरो यो हालत छ। कसले पैसा दिन्छ र फर्किउँ।'

डिटेन्सन क्याम्पबाट उनले कहिले कहीँ घरमा फोन गर्न पाउँछन्। उनी घरमा फोन गर्ने बित्तीकै भक्कानिएर रुन्छन्। घरमा रहेका उनका श्रीमती र छोराले 'घर कहीले आउनुहुन्छ ?' भनेर सोध्दा उनि नाजवाफ हुन्छन्। मलेसीयाको केएलआईस्थित डिटेन्सन क्याम्पमा रहेका उनले भने,' घर कहीले आउने ? भन्दै श्रीमती रुन्छिन् । अनि म पनि रुन्छु ।'फोनमा छोराले फोनमा 'बाबा' भन्दा त उनी डाकै छोडेर रोए। उनी यहाँ आउँदा उनका छोरा गर्भमै थिए। छोरा अहिले २ बर्ष पुगिसकेका छन्। भन्छन्,'छोरालाई चाँडै देख्ने मन छ । तर,विना पैसा घर जान नपाइने भएकाले छोराको मुखै नदेखी मर्छु की जस्तो लाग्छ ।'

जेल परेका नेपालीलाई यहाँस्थित नेपाली दुतावासले निःशुल्क टिकट दिएर घर पाठउँछ भनेर सुनेका उनले दुतावासका कर्मचारी आएर भेट्ने तर,घर पठाउन आफैले टिकट किन्नु पर्ने भनेको उनले बताए ।

घरमा रहेकी श्रीमती शोभा भण्डारी श्रीमान् चाँडै घर आए हुन्थ्यो भन्छिन्। नागरिकन्युजसँग टेलिफोन सम्वादमा उनले भनिन्,'उहाँ जाँदा छोरा गर्भमै थियो। उसले बाबा भन्छ। अब चाँडै आइदिए हुन्थ्यो। बरु यतै गीट्टी कुटेर खाउँला।' उनले श्रीमानलाई पनि फोनमा यही भन्ने गरेकी छिन्।

प्रकाशित: १७ पुस २०७१ ०१:२५ बिहीबार