सानफ्रान्सिस्को, (अमेरिका)– स्कूलस्तरका विद्यार्थीहरुको अंग्रेजी भाषा सुधार गर्नका लागि अमेरिकामा सिलिकन भ्यालीमा रहेका एक नेपाली इन्जिनियरले नेपालमा पुरस्कार स्थापना गरेका छन्।
क्यालिफोर्नियाको सानहोजेस्थित इन्टेलमा कार्यरत इन्जिनियर प्रदीप खनालले नेपालको माध्यामिक विद्यालयस्तरका विद्यार्थीहरुबीच अंग्रेजी भाषामा निवन्ध प्रतियोगिता गराउनेगरि पुरस्कार स्थापना गरेका छन्। 'विद्यार्थीहमा खोज, अनुसन्धान र लेखनकार्यलाई प्रोत्साहन गर्नेगरि यो पुरस्कार स्थापना गरिएको हो,' खनालले भने।
खनाल कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) अमेरिकाका अध्यक्ष हुन्। हाल राजधानीको सीतापाइला गाविसका विद्यालयहरुमा मात्र राखिएको यो प्रतियोगिता आउँदो बर्षदेखि देशव्यापी बनाइनेछ। उत्कृष्ठ चार निवन्धलाई नगद पुरस्कारको व्यबस्था गरिएको खनालले बताए।
अंग्रेजी भाषा विश्वको साझा भाषा भएकोले यसमा दक्ष हुन सकेमा जुनसुकै कार्यक्षेत्रमा पनि सफल हुने भएकोले यस्तो प्रतियोगिता राखिएको हो। निवन्ध मूल्यांकन समितिमा अनुजा घिमिरे (अमेरिका), प्रदीप खनाल (अमेरिका), शर्मिला पोखरेल (क्यानडा) र सन्तोषी खतिवडा (नेपाल) रहेका छन्।
प्रकाशित: १३ मंसिर २०७१ २३:४१ शनिबार