एडमन्टन (क्यानडा)— नेपालबाट अढाई महिने कलायात्रामा उत्तर अमेरिका निक्लिएका मदनकृष्ण र हरिवंशको टोलीले क्यानडाको एडमन्टन सहरमा नोभेम्बर २३ मा आयोजित महजात्रा नाम दिइएको एक कार्यक्रममा हँसाए। तीनवटा फरकफरक प्रस्तुतिमा तीन पटक मन्चमा देखापरेका महजोडीले पहिलो प्रस्तुतिमा एउटा रमाइलो गीत गाए। गीतले चराचर जगतका लागि चाहिले सबैथोक माटो, हावा, पानी, अन्न,वायु, सूर्यचन्द्र सबैथोक ईश्वरले बनाए पनि नेपालमा राम्रा नेता बनाउन मात्रै ईश्वरले टाउको कन्याए भनेर हँसाएका थिए।
दोश्रोपटक देखापर्दा मह 'शब्दाक्षरी' नामको खेल खेल्न नेवारबहादुर र बाहुनबहादुर बनेर आए। साथमा छोरा मोहित र बसुन्धरा भुसाल पनि देखिए। बाहुन नेवार बनेका र नेवार बाहुन बनेका थिए. दुई जातिबीचको घोचपेच र भनाबैरीमा घुमेको यो लम्बेतान प्रस्तुतिमा नेवारले बाहुनलाई निक्कै खेदो खन्यो र अन्तिममा यस्तो जातीय रङ्गगन्धका कुरा गर्नु हुन्न भन्ने एक राउण्ड सन्देशमा गएर निख्रियो। बाहुनको शरीर जाँडले डुङ्डुङ्ति गनाउने, टपरा सोर्ने जात, काठा भनिने जात, काटो खाने जात, नेवारको आहार भैसी किन खाएको बाहुनले, बरु कुकुर खाएको भए हुने नि, महानगरपालिकालाई नि सहयोग नै हुन्थ्योसम्म भनेर भन्न पाइने स्वतन्त्रताको सोझै र घुमाएर भरपुर उपयोग भएको थियो प्रहसनमा। कति बाहुन महले भनेको कहाँ नराम्रो हुन्थ्यो भन्दै मज्जा लिने पाइए भने कतिले यो सोभनीय भएन भने। 'जातीयताका कुरालाई रोग फैलाउने फोहोर मान्ने हो भने यसलाई कलाको नाममा पहिले छरेर पछि कुचो लाउने चेष्टा गर्दा यो प्रवृति समाजबाट, हाम्रो मनमस्तिष्कबाट हटाउन टेवा पुग्ला र ?' एकजना बाहुन सज्जनले खुसुक्क टिप्पणी गरे। तेस्रोपटक मन्चमा देखापर्दा जोडीले 'म डन फोटो स्टुडियो' नामको प्रहसन गर्यो जसले परिश्रम गरेर होइन डाकागिरि गरेर खान पल्केकालाई निशाना बनायो।महजात्रा टोलीमा मदनकृष्ण र हरिवंश, उनका छोराहरु यमन श्रेष्ठ र मोहित आचार्य, बसुन्धरा भुसाल, किरण केसी (रातामकै), शिवहरि पौडेल(मुखमा हान्ने जस्ता), उद्घोषक बनेका रबि लामिछाने र मह संचारका छाँयाकार गौरीशंकर धुजुसहित ९ जना थिए। यमन श्रेष्ठले उनका चर्चित केही रमाइला गीत गाए जुन खुब रुचाइए दर्शकबाट। रातामकै र असिनाप्रसादले नेपालको पुलिसगिरी केन्द्रित प्रहसनदेखि 'आजकालका केटीहरु छोटा कट्टु लाउने' मार्काको हाँस्यव्यंग्य पनि पस्किन भ्याए।
साँझ ७ बजेबाट सुरु भएर १० बजेसम्म चलेको र पुराना संचारकर्मी रबि लामिछानेले चलाएको तीन घन्टे कार्यक्रम महजात्रामा हाँस्यचेत भएका जति सबैलाई हाँस्न केही अपुग भएको देखिएन। कार्यक्रम अवधिभर कसैलाई पनि स्थिर वा चल्ने कुनैपनि चित्र नखिच्न कडा सूचना पटकपटक सुनाइएको थियो।
"सन् १९९६ मा क्यानडाको टोरन्टोमा कार्रेक्रम गरेका थियौं र अहिले १८ बर्षपछि फेरि आयौं.... पहिले नेपाली अति नै कम थिए, अहिले क्यानडामा पनि नेपाली दिदीबहिनी दाजुभाइको सङ्ख्या बढेछ...कार्यक्रमको माग यति धेरै आएको छ अमेरिका र क्यानडामा सबैतिर समय दिने हो भने १ वर्ष घर नगइकन यतै बसे हुन्छ", नागरिकन्युजले राखेका केहि जिज्ञासामा हरिवंशले भने. 'अमेरिकामा २८ ठाउँमा गर्यौं अब र क्यानडामा छवटा गरेर ३४ कार्यक्रम हुने भए यसपाली, अब डिसी फर्किएर घर जाने, यसपालिलाई पुग्यो', छेवैमा नक्कली कपाल टाँस्न र मुहारको जिर्णोद्वार गर्न तल्लीन मदनकृष्णले सुनाए।
महजात्रा सुरु हुनुपूर्ब नेपाली बालबालिकाले नेपाली राष्ट्रगान र यो नेपाली शीर उचाली.. गीत गएका थिए। स्थानीय कुशल नृत्यजोडी निश्रिता बानियाँ र रोसन केसीले नेपाली लोकभाकाका केही मिश्रीत बान्कीमा नृत्य गरेकी गरेकी थिइन्। गायक तथा संगीतकार ईश्वर खत्रीले आफ्नो एक गायन प्रश्तुत गरेका थिए।
प्रकाशित: ९ मंसिर २०७१ ०७:१८ मंगलबार