प्रवास

अमेरिकामा नेपाली कांग्रेसको चुनाव

क्यालिफोर्निया (अमेरिका) – दुई सातापछि हुन लागेको नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समिति अमेरिकाको अधिवेशनले यतिखेर नेपालीमाझ चर्चा पाएको छ। अधिवेशनमा आउँदो नेतृत्वका लागि अहिलेसम्म दुईजनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
समितिका संस्थापक अध्यक्ष आनन्द विष्ट र वर्तमान आयोजक समितिका अध्यक्ष विष्णु सुवेदीले उम्मेदवारी घोषणा गरिसकेका छन्।एकताको अधिवेशन नाम दिइएको जनसम्पर्क समिति अमेरिकाको आगामी नेतृत्वका लागि आधा दर्जन प्रत्याशी देखिएपछि एकताभन्दा पनि यहाँको कांग्रेसी संगठन झनै चिरा पर्ने संकेत देखिएको छ। यो अधिवेशनलाई 'एकताको अधिवेशन' को नाम दिइएको छ।
नोभेम्बर २२ र २३ मा टेक्ससको डालसमा हुने अधिवेशनका लागि अहिले अमेरिकामा रहेका कांगे्रसमा कार्यकर्ताहरु प्रचार प्रसारमा लागिसकेका छन्। आगामी नेतृत्वमा लागि सबैभन्दा अगाडि देखिएका विष्ट दुई साता अघिदेखिनै दौडाहामा लागेका छन्। उनले गत साता अधिवेशनस्थल डालस पुगेर स्थानीय कांग्रेसका कार्यकर्ताहरुसँग छलफल समेत गरिसकेका छन्।
अर्का उम्मेदवार सुवेदी पनि विष्टको पछिपछि यसै साता डालस पुगेर स्थानीय नेपाली कांग्रेसका कार्यकर्ताहरुसँग छलफल गरेर फर्केका छन्।
कांग्रेसमा उपसभापति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। स्रोतका अनुसार अहिलेसम्म जनसम्पर्क समितिको सभापतिमा विष्ट र सुवेदीका अतिरिक्त प्रमोद सिटौला, अर्जुन बञ्जाडे र कृष्ण लामिछाने प्रचारमा लागिसकेका छन्। तर प्रतिस्पर्धा भने विष्ट र सुवेदीकै बीचमा हुने चर्चा अमेरिकामा रहेका कांग्रेसी कार्यकर्ताहरुले गरेका छन्।
विष्ट जनसम्पर्क समिति अमेरिकाका संस्थापक संयोजक हुन्। सन् २००४ देखि निरन्तर सकृय विष्टलाई वर्तमान प्रधानमन्त्री सुशील कोइराला विगतमा विरामी भएर न्यूयोर्क आउँदा पालनपोषण गर्ने व्यक्तिमा रुपमा धेरैले चिन्छन्। तर स्रोतका अनुसार अहिले विष्टलाई कांग्रेसको संस्थापक र देउवा दुबै खेमाले पाखा लगाउने काम गरेका छन्। संस्थापन पक्षले देउवा पक्षको मान्छे भन्ने आरोप लगाएको छ भने विगतमा कोइरालालाई न्यूयोर्कमा राखेका कारण देउवा पक्षले कोइराला पक्षको भन्ने आरोप लगाएको छ। तर कांग्रेसीवृत्तमा भने अमेरिकामा रहेका नेपाली कांग्रेससँग निकटहरुलाई एकजुट बनाउनसक्ने व्यक्तिका रुपमा उनलाई लिइन्छ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका सुवेदी वर्तमान अधिवेशन आयोजक समितिमा संयोजक छन्। झण्डै दुई बर्षसम्म अधिवेशन गराउन नसकेर तदर्थकै रुपमा समितिलाई राखेको आरोप उनलाई कांग्रेसकै कार्यकर्ताहरुले लगाएका छन्। गत महिना प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएको समयमा तस्विर खिचेर सार्वजनिक गरेपछि उनी विवादमा परेका छन्। प्रधानमन्त्रीले शरिरको भित्री भागमा हात घुसाएर कन्याइरहेको तस्विर त्यतिखेर खिचिएको थियो।
२१ सदस्यिय जनसम्पर्क समितिमा १६ जना अधिवेशनबाट निर्वाचित हुनेछन्। अध्यक्ष सहित दुई उपसभापति, महासचिवको समेत निर्वाचन हुने भएको छ।
स्रोतका अनुसार उपाध्यक्षका लागि अहिलेसम्म केशव बराल र रामशरण हुमागाईले उम्मेदवारी दिने चर्चा छ। उता महासचिवमा क्यालिफोर्नियाका विनोद भट्ट, धनन्जयनरसिंह केसी र सुवास घिमिरेको चर्चा छ। भट्ट र केसी दुबैले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। भट्टले जनसम्पर्क समितिलाई चुस्त बनाउन धेरैले सकृयता निर्वाह गरेका हुँदा महासचिव बनाउनुपर्छ भन्ने धेरेको अपेक्षा रहेको छ।
पहिलेदेखिनै फुट र जुटको विवादमा पर्दै आएको यहाँको कांग्रेसी संगठनको अधिवेशनपछि एकजुट हुने अपेक्षा लिएर झण्डै पाँचसय नेपाली आउँदो दुई सातापछि डालसमा भेला हुँदैछन्। अमेरिकाका बिभिन्न राज्यबाट नौसय प्रतिनिधि छनौट भएतापनि व्यक्तिगत व्यस्तताले गर्दा पाँचसयको मात्र सहभागिता रहने अपेक्षा आयोजकको छ।

प्रकाशित: २७ कार्तिक २०७१ २२:१९ बिहीबार