प्रवास

प्रवासबाट विद्यालयलाई पाँच लाखभन्दा बढी सहयोग

म्याग्दी- म्याग्दीको बाबियाचौर–४ स्थित र्या लेखोरमा रहेको मङ्गला माविमा प्रवासमा रहेका स्थानीयवासीबाट रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ। विद्यालयको भौतिक विस्तार र जग्गा खरिदका लागि हाल हङ्कङमा रहनुभएका स्थानीय चित्रबहादुर पुन र अमेरिकामा रहनुभएका खगेन्द्र अधिकारीको नेतृत्वमा रु पाँच लाख १४ हजार ६८० विद्यालयलाई प्राप्त भएको शिक्षक भविदत्त सुवेदीले जानकारी दिए। 
विद्यालयमा आयोजित सरोकारवालाहरुको भेलामा सो रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा सहयोगदाता पुनका बुबा रत्नबहादुर पुन र अधिकारीका बुबा भूपू प्रधानाध्यापक एमबहादुर अधिकारीले सो रकम संयुक्त रुपमा प्रधानाध्यापक उमादेवी पौडेललाई हस्तान्तरण गरिएको थियो। 
यसैबीच भूपू प्रधानाध्यापक अधिकारीले स्थापना गर्नुभएको रु एक लाखको अक्षयकोषबाट एसएलसी परीक्षा–२०७० मा सबैभन्दा बढी अङ्क ल्याउने छात्रा सिर्जना केसीलाई रु पाँच हजार र दलिततर्फ सबैभन्दा बढी अङ्क ल्याउन सफल चेतमायाँ बस्याललाई रु दुई हजार प्रदान गरिएको थियो। रासस

प्रकाशित: १६ आश्विन २०७१ ०३:०२ बिहीबार