प्रवास

अक्टोबर फेष्टमा ६५ लाख सहभागी

म्युनिख (जर्मनी) - विश्वको ठूलो लोक पर्वको रूपमा मानिने "अक्टोबर फेष्ट" शनिबारदेखि जर्मनको म्युनिखमा सुरू भएको छ। अक्टोबर फेष्टमा सहभागी हुन विश्वभरका विभिन्न भागबाट ६५ लाख मानिसहरू म्युनिखमा जम्मा भएका छन्। म्युनिख शहरका मेयर डिटर राईटरले थेरिजियनविजेमा 'ओ ज्याफ्ट इज् !' अर्थात चियस् बोलेर एक लिटरको वियरको ग्लासबाट वियर पिएर अक्टोबर फेष्टको औपचारिक उद्‌घाटन गरे।

 

यसअघि विभिन्न स्थानबाट आएका मानिसहरूलाई स्वागत स्वरूप परेडको आयोजना गरिएको थियो। जर्मनीको १६ दिने यस महोत्सवलाई वियर महोत्सव समेत भनिन्छ। परम्परागत वियर, मासु र रमाइलो डान्सको लागि प्रख्यात अक्टोबर फेष्टको तयारी तीन महिना अघिदेखि सुरू हुन्छ। म्युनिख र वाभारियामा सेप्टेम्बरको पछिल्लो हप्तादेखि अक्टोबरको पहिलो सप्ताहान्त १६ दिनसम्म चल्ने महोत्सवमा परम्परागत महिलाहरूको ड्रिन्डल र पुरूषहरूको लेदरहोसेन नामक घोडाको छालाबाट तयार भएको पोशाकमा सजिने गरेका छन्।

राजा लुड्विगले सन् १८१०मा थेरिसकी राजकुमारी हिल्डबर्गहुग्सेनसँग विवाह गरेपछि म्युनिखका नागरिकहरूलाई विवाह महोत्सवमा सहभागी हुन आयोजना गरेको भोजलाई अक्टोबर फेष्टको रूपमा मनाउन थालिएको हो। घोडादौडको आयोजना गरेर बेभेरिसका राजपरिवार विवाह भोजलाई सम्पन्न गरेका थिए। पछि राम्रो मौसममा महोत्सव मनाउन सेप्टेम्बरको पछिल्लो साता अक्टोबर फेष्टको आयोजना गरिन थालियो। विभिन्न कारणले यो महोत्सव २४ पटक रद्द भएको थियो। 'वार्षिक रूपमा अक्टोबर फेष्टको आयोजना हुने गरेको छ। म्युनिखको स्थानीय वियर युरोपमा चर्चित छ। रमाइलो गर्न र बियर पिउनलाई संसारभरका मानिसहरू यस महोत्सवमा सहभागि हुने गरेको छन्। यस महोत्सव जर्मनी संस्कृति र परिकारहरूको स्वाद लिन चाहनेका लागि विशेष अवसर हो महोत्सवको आनन्द लिन विश्वभरका मानिसहरू यहाँ सहभागि छन्',महोत्सवमा सहभागी भएकी लुरेल रेविन्सले भनिन्।

महोत्सव असोज १९ सम्म चल्नेछ। सन् १८१० देखि मनाउन सुरू गरिएको अक्टोबर फेष्ट बेभेरिस संस्कृतिको मुख्य भाग हो। गत वर्षमात्र १६ दिने महोत्सवमा झण्डै सत्तरी लाख लिटर बियर बिक्री भएको म्युनिखको औपचारिक वेबसाइटले जनाएको छ। ४२ हेक्टरमा फैलिएको थेरिजियनविजेमा १० हजार मानिस अटाउने १४ वटा ठुला र ५ सय क्षमताको २० वटा साना टेन्डहरू निर्माण गरिएका छन्। यसभित्र विभिन्न रमाइलो खालका घोडा दौड, बियर पिउने प्रतियोगिता र खेलका स्टलहरू समावेश छन्।

प्रकाशित: ५ आश्विन २०७१ ०६:३४ आइतबार