जापान-गैरआवासीय नेपाली संघ (एनआरएनए) को जापानमा भइरहेको आठौं क्षेत्रीय सम्मेलनका सहभागीले विदेशमा बस्ने नेपालीलाई पनि मताधिकार दिन माग गरेका छन्। उनीहरुले पाकिस्तान, भारत लगायत देशमा यसबारे बहस भइरहेकाले नेपालीले पनि त्यस्तै अधिकार दिन माग गरेका हुन्।
संघका अध्यक्ष शेष घलेले बिदेश बस्ने नेपालीलाई मताधिकार दिन नेपाल सरकारसँग निरन्तर छलफल र परामर्श भइरहेको भन्दै निर्वाचन आयोगले दुई बर्ष अघि थालेको पहललाई सार्थक बनाउन आग्रह गरे।
संघका पूर्व अध्यक्ष जीवा लामिछानेले नेपाली नियोग भएका ठाउँमा नियोगमै पुगेर मत हाल्ने ब्यबस्था गर्न आग्रह गरे। त्यसैगरि कार्यक्रमका सहभागीले नेपाली नागरिकताको निरन्तरताको सुनिश्चिता हुने गरी आगामी संबिधानमा ब्यबस्था माग गरेका छन्। नेपाली नागरिकताको निरन्तरताले गैरआवासीय नेपालीलाई नेपाल फर्किन र लगानी ल्याउन उत्प्रेरित गर्ने भन्दै यस्तो ब्यबस्थाले एनआरएनलाई नभई मुलुकलाई फाइदा पुग्ने दावी गरे।
अघिल्लो संबिधानसभाको अर्न्तगतको बिबाद समाधान उपसमितिले ब्यबस्था गरेअनुसार गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था आगामी संबिधानमा गर्न उनीहरुले माग गरेका छन्।
दोहोरो नागरिकताले मुलुकलाई कसरी फाइदा हुन्छ भन्ने कुरा अरु देशको अनुभवलगायत सूचना सहित सरकारलाई विश्वास दिलाउनप्रयास गरिरहेको बताए।
यसअघिको सेसनमा संघ, सरकार र राजनीतिक दलवीचको सम्बन्धबारे प्रकार पार्दै डा. सूर्यप्रसाद पाठकले राजनीतिक दल र नेताहरुबाट आवश्यक पर्दा विदेशमा बस्ने नेपालीबाट सहयोग लिने र अरु बेला विर्सिइने गरेको बताए।
प्रकाशित: २ आश्विन २०७१ २३:४० बिहीबार