म्याग्दी-कतारमा घर फर्कने क्रममा आगलागीमा ज्यान गुमाएका एक म्याग्दीवासीको शव पहिचान हुन सकेको छैन। कतारस्थित घर फिर्ती केन्द्र (डिर्पोटसन सेन्टर) मा भएको अगलागीमा मृत्यु भएका बेनी नगरपालिका सिंगाका ३२ वर्षीय पूर्णबहादुर सार्कीको परिवारबारे खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।‘अहिलेसम्म उनको घर परिवार भेटिएको छैन, सोमबारसम्म सबै विवरण संकलन हुन्छ,' उनले भने। सोमबार वडा सचिवलाई बोलाएको केसीले बताए। बेनपा–१४ मा खोजी गर्दासमेत फेला नगरेपछि प्रशासनले वडा सचिवसहितको टोलीलाई सोमबार बोलाएको हो। गैरकानुनी तरिकाले काम गरिरहेको अवस्थामा कतार प्रहरीले नियन्त्रणमा लिएर स्वदेश फर्काउने तयारी गरिरहेका बेला भएको घटनामा सार्कीसँगै घनुषाका २६ वर्षीय सिरान कपारको मृत्यु भएको थियो।
सार्कीको कतार सरकारको नियन्त्रणभित्र रहँदा मृत्यु भएकाले उनले सरकारी क्षतिपूर्ति पाउने हुँदा परिवारको पहिचान आवश्यक परेको म्याग्दी सेवा समाज, कतारका महासचिव रमेश पौडेलले बताए। ‘परिवारको वास्तविकता पहिचान नहुँदा समस्या भइरहेको छ, शव स्वदेश पठाउनसमेत आधिकारिक व्यक्ति चाहिन्छ,' उनले भने। उनका अनुसार मृतक दुई नेपालीको शव स्थानीय हमद अस्पतालमा राखिएको छ।
प्रकाशित: ३० भाद्र २०७१ २२:४३ सोमबार