काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) मा मृत्युदण्डको सजाय पाएका संखुवासभा मत्स्यपोखरी–३ का अनिष खालिङ राईको जीवन रक्षाका लागि आवश्यक पर्ने ३ लाख ५ हजार दिराम (८१ लाख ९ हजार ९ सय ५० रुपैयाँ) ‘ब्लडमनी' परिवारले सरकारलाई बुझाएको छ।
अनिष खालिङ राई बचाउ अभियान समितिले विश्वभर छरिएका नेपालीसँग रकम संकलन गरेको थियो। ‘अनिषको जीवन रक्षार्थ आवश्यक पर्ने ब्लडमनी (क्षतिपूर्ति रकम) संकलन गर्दा ३ करोड २० लाख रुपैयाँ उठेको छ। ब्लडमनीको लागि ८१ लाख ९ हजार ९ सय ५० रुपैयाँ मात्र चाहिने भएकाले त्यति रकम हामीले सिंहदरबारस्थित एभरेस्ट बैंकको खातामा राखिसकेको छौं,' समितिका सहसंयोजक सुजन खालिङले भने, ‘बाँकी रकम ट्रस्ट बनाएर राख्ने निर्णय भएको छ।'
वैदेशिक रोजगारको सिलसिलामा २०६८ सालमा युएईको आबुधावी पुगेका राईमाथि पाकिस्तानी नागरिक मिसतादिन बेंगल खानको हत्या गरेको आरोप लागेको थियो। ज्यान मारेको अभियोगमा दोषी ठहर गर्दै स्थानीय अदालतले पछि उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।
मुस्लिम कानुनमा पीडित पक्षले ब्लडमनी लिन कबुल गरे र मागेको जति ब्लडमनी बुझाए दोषीलाई दिइएको मृत्युदण्डको सजाय माफ गरिने अभ्यास छ। सोहीअनुसार राईको परिवारले ब्लडमनीको प्रस्ताव पीडित परिवारलाई गरेको थियो। पीडित परिवारको परामर्शमा स्थानीय आबुधावी अदालतले ३ लाख ५ हजार दिराम ब्लडमनी निर्धारण गरेको थियो।
पीडित परिवारले माग गरेको ब्लडमनी राईको परिवारले तिर्न नसक्ने भएपछि २०७० पुस २५ गते अनिष खालिङ राई बचाउ अभियान समिति गठन गरिएको थियो। राईको जीवन रक्षार्थ रकम संकलनका लागि वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले एभरेस्ट बैंकमा ५० हजार रुपैयाँ सिडमनी राखी खाता खोलिदिएको थियो।
‘हामीले ब्लडमनिको लागि आवश्यक रकम सरकारलाई बुझाई सकेका छौं। अदालतले तोकेको ब्लडमनि संकलनमा सबै जनाले सहयोग गरेका कारण आज अनिसले पुनर्जीवन पाउने निश्चित भएको छ,' बचाउँ अभियान समितिका सहसंयोजक खालिङले भने, ‘बाँकी रहेको रकम ट्रष्ट खडा गरी अनिस जस्तै समस्यामा परेकाहरु साथै मानविय सेवामा सहयोग गर्नेछौं।'
प्रकाशित: २ भाद्र २०७१ ०९:४३ सोमबार