सियाटल– गैरआवासीय नेपाली संघ एनआरएनको काठमाडौंमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलन भएको छ। एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपस्थित नेपालीले स्वस्फूर्त सहयोग रकम घोषणा गरेका थिए।
थोरै नेपालीको बसोबास रहेको वासिङटनको सानो क्षेत्र सियाटलबाट अपेक्षाभन्दा निकै बढी र उत्साहजनकरूपमा रकम संकलन भएको छ। एनआरएनए भवन निर्माणका निम्ति सेभेन समिट्स फाउन्डेशनले एनआरएनएसँग सहकार्य गर्दै फन्ड रेजिङ कार्यक्रम आयोजना गरेेको हो। १५ लाख रुपैयाँ संकलनको लक्ष्यसहित आयोजित कार्यक्रममा झन्डै २१ लाख रुपैयाँ संकलन भएको आयोजक एवं आइसिसी सदस्य एसी शेर्पाले जनाए।कार्यक्रममा एनआरएन आइसिसी अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघलाई संस्थागत र दिगो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए। सोही अभियानअन्तर्गत आफ्नै कार्यालय भवन निर्माण अत्यन्तै जरुरी भएकाले विश्वभरका नेपालीको अपनत्व हुने गरी रकम संकलन अभियान थालेको उनले खुलाए।
कार्यक्रममा अमेरिका क्षेत्रीय उपसंयोजक सोनामा लामा, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष लोक तिवारी, क्यानडाका आइसिसी सदस्य विनोद केसी, आइसिसी सल्लाहकार राम खरेल, एनआरएनका संरक्षक अम्बिका अधिकारी, अमेरिकी डेमोक्रेटिक पार्टीका सदस्य दर्शन रौनियार, १५ पटकसम्म सगरमाथा आरोहण गरेका लाक्पा शेर्पा, अमेरिकाका सफल व्यवसायी कर्मा शेर्पा तथा एनआरएन आइसिसी र एनसिसी सदस्यहरूको उपस्थीति थियो।
कार्यक्रमको पहिलो दिनमै सोचेभन्दा धेरै रकम संकलन भएकोमा एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले सम्पूर्ण सहयोग दातालाई धन्यवाद ज्ञापन गरेका छन्।
प्रकाशित: १ भाद्र २०७१ ०९:४४ आइतबार