प्रवास

एनआरएन कार्यालयलाई २१ लाख

काठमाडौं– गैरआवासीय नेपाली संघको काठमाडौंमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलन भएको छ।१५ लाख रुपैयाँ संकलनको लक्ष्यसहित आयोजित कार्यक्रममा झन्डै २१ लाख संकलन भएको आयोजक एवं आइसिसी सदस्य एसी शेर्पाले जानकारी दिए। गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपस्थित नेपालीले स्वतस्फूर्तरुपमा रकम सहयोग गरेका हुन्। 
रियलस्टेट मार्केटिङ एजेन्ट तालिम 
काठमाडौं– बृहत इन्भेस्टमेन्टद्वारा आयोजित ९ औं ब्याचको रिमा (रियल इस्टेट मार्केटिङ एजेन्ट) तालिम सम्पन्न भएको छ। 
व्यावसायिक तथा दक्ष रियल इस्टेट उद्यमी उत्पादनको उद्देश्यले आयोजित तालिम साउन २८ देखि ३० गतेसम्म सञ्चालन भएको हो। तालिममा रियल इस्टेट, वित्तीय, इञ्जिनियरिङ, मार्केटिङ, वैदेशिक रोजगारलगायत क्षेत्रका १६ जनाको सहभागिता थियो। 
तालिममा रियल इस्टेट, यससम्बन्धी कानुन, रियल इस्टेटको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार, वर्तमान अवस्था, बैंक कर्जा, सम्पत्ती बीमा, सम्पत्ती मूल्याङ्कन तथा सम्भाव्यता अध्ययन, अर्थतन्त्रस“गको सम्बन्ध, भवन संरचनाको इन्जिनियरिङ पक्ष आदिका साथै व्यवसायिक सफलताका लागि महत्वपूर्ण अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुति रहयो। 
‘रियल इस्टेट हरेक व्यक्तिको सरोकारको विषय भएकाले यो मर्यादित र व्यवस्थित हुन आवश्यक छ,' तालिम समापन समारोहमा आयोजक बृहत ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले भने, ‘यसका लागि रियल इस्टेट कारोबारमा प्रत्यक्ष समावेश हुने एजेन्ट दक्ष हुन आवश्यक रहेकाले सरकारले अनुमतिपत्रको कार्यविधि बनाएर पान रजिस्टर ब्रोकरबाट मात्र कारोबार गर्ने/गराउने व्यवस्था अबिलम्ब लागु गर्नु पर्छ।' नेपालमा पनि रियल इस्टेट एजेन्ट पेशागत रुपले अगाडि जाने बेला आइसकेकाले सरकारले यसलाई अनुमतिपत्रको व्यवस्थाबाट संस्थागत गर्दा राजस्वको दायरासमेत फराकिलो हुने उनले बताए। 
रिमा तालिम सम्बन्धित क्षेत्रका पेशाकर्मीका साथै अन्यका लागि पनि उत्तिकै महत्वपूर्ण र व्यवहारिक रहेको सहभागिहरुको धारणा थियो। बृहतले विगत ६ वर्षदेखि रिमा तालिम सञ्चालन गर्दै आएको छ। नवौं ब्याचसम्ममा तालिमबाट १ सय २६ जना दक्ष रियल इस्टेट मार्केटिङ एजेन्ट उत्पादन भइसकेका छन्।

प्रकाशित: ३१ श्रावण २०७१ २१:४८ शनिबार