परराष्ट्रका अनुसार इराकमा रहेका नेपाली उद्धार गर्न विशेष प्रतिनिधिका रूपमा परराष्ट्रका सहसचिव अर्जुनकान्त मैनाली र उपसचिव तीर्थ अर्याल त्यहाँ पुगेपछि नेपाली महिला बेचिने गरेको जानकारी आएको हो। मैनाली मंगलबार राजधानी बग्दाद र अर्याल आइतबार इराकको उत्तरपूर्वी सहर अरबिल पुगेका थिए।
सुन्नी लडाकु र सरकारी सेनाबीच द्वन्द्व चर्किएपछि नेपाली कामदार उद्धार गर्न खटिएका नेपाली प्रतिनिधिसँग गिरोहको किनबेचबाट पीडितले तत्काल स्वदेश फर्काइदिन भन्दै सम्पर्क गरिरहेका छन्। सम्पर्क गर्ने नेपाली महिलाले तत्काल स्वदेश नफर्काइए फेरि गिरोहले आफूहरूलाई बेच्ने बताएका छन्।
स्रोतअनुसार राजधानी बग्दादमा ७ देखि ८ हजार र बग्दाद बाहिरका सहरमा ५ देखि ६ हजार डलरसम्ममा नेपाली महिला बेचिन्छन्। वैदेशिक रोजगारमा इराक जान सरकारले लामो समयदेखि प्रतिबन्ध लगाएको भए पनि दलालहरूले चोरबाटो हुँदै नेपालीलाई इराक पठाउँदै आएका छन्। उनीहरूले भारतको नयाँदिल्ली र मुम्बईबाट कुवेत, युएई, कतार हुँदै इराकका विभिन्न सहरमा पुर्याउँछन्।
अवैध बाटोबाट त्यहाँ पुगेकाले इराकमा रहेका नेपालीको वास्तविक आँकडा सरकारसँग छैन। इराकमा बढीमा १० हजार नेपाली कामदार रहेको अनुमान गरिँदै आइएको छ। इराकमा कार्यरत नेपाली कामदारमध्ये २ देखि ३ हजार महिला रहेको अनुमान छ। महिला कामदारलाई सुरुमा १५ दिनको भिसामा इराक पुर्याइन्छ, त्यसपछि 'रेसिडेन्ट परमिट' बनाइन्छ।
'आफूहरू पटक–पटक बेचिएको भन्दै तुरुन्त उद्धार गरी स्वदेश फर्काउन नेपाली महिलाले आग्रह गरेका छन्। तीमध्ये अधिकांशसँग राहादनी छैन। उनीहरूको राहदानी घरमालिक वा म्यानपावर कम्पनीले राखेका छन्। राहदानी नहुँदा उनीहरूको उद्वार गर्न हाम्रा प्रतिनिधिलाई कठिन भएको छ,' परराष्ट्रस्रोतले भन्यो।
स्रोतअनुसार गिरोहले इराक पुग्नेबित्तिकै नेपाली महिलालाई घरेलु कामदारका रूपमा धनीको घरमा पठाउँछन्। पहिलोपटकको करार सकिनेबित्तिकै स्वदेश फर्काइदिने भन्दै उनीहरूले आफ्नो कार्यालयमा ल्याउँछन्।
प्रायः नेपाली महिलालाई किर्गिस्तान लगेर जागिर दिलाइदिनेे प्रलोभन देखाएका हुन्छन्। गिरोहले इराककै कुर्दिस्तानलाई ढाँटेर किर्गिस्तान भन्ने गर्छन्। किर्गिस्तान युरोपनजिक रहेको, त्यहाँको समाज खुला भएको जनाउँदै उनीहरूलाई ठूला होटल तथा रेस्टुरेन्टमा जागिर लगाइदिने र केही समयपछि त्यहाँबाट युरोप नै छिराइदिने आश्वासन दिएका हुन्छन्।
'हामीलाई प्राप्त जानकारीअनुसार नेपाली महिलालाई घरेलु कामदारका रूपमा पठाउनुअघि गिरोहले एउटै घरमा राख्दो रहेछ। मालिकसँगको बार्गेनिङ टुंगोमा पुगेपछि महिलालाई ट्याक्सीमा राखी सम्बन्धित ठाउँमा पुर्याएर छाडिन्छ। सुरुका केही दिन त उनीहरूले आफू बेचिएको भेउसमेत पाउँदैनन्। लामो समय घर नफर्काइदिएपछि र मालिकले अब तिमी यति समयका लागि यहीँ काम गर्ने हो भनेपछि मात्र उनीहरूले आफू बेचिएको चाल पाउँछन्,' स्रोतले भन्यो।
बेचिएको केही सातासम्म उनीहरूलाई कुन सहर पुर्याइयो भन्नेसमेत थाहा हुँदैन। महिला कामदारलाई मालिकहरूले एकपटक पनि घरबाहिर निस्कन दिँदैनन्। गिरोहले कार्यरत घरबाट आफ्नो कार्यालयमा फिर्ता लगेपछि पनि उनीहरूलाई घरबाहिर निस्कन दिँदैनन्।
उद्धारका लागि इराक पुगेका नेपाली प्रतिनिधिसँग सम्पर्क गर्ने अधिकांश महिलाले आफूहरू दुईदेखि तीनपटकसम्म बेचिएको जानकारी दिएका छन्।
बेचिएका महिला कामदारले नेपाली प्रतिनिधिसँग जतिसक्दो छिटो स्वदेश फर्काइदिन आग्रह गरेका छन्। 'कम्पनीमा काम गर्नेमा बेचिने समस्या छैन,' स्रोतले भन्यो।
असुरक्षाका कारण धेरै देशले इराकमा कामदार पठाउँदैनन्। अझ महिला कामदार त पठाउँदै पठाउँदैनन्। त्यसैले त्यहाँ घरेलु कामदारको माग ठूलो छ। घरेलु काम गर्न चाहने महिलालाई पुरुषको तुलनामा करिब दोब्बर तलब मालिकले प्रस्ताव गर्छन्। यसैकारण थोरै मात्रामा पुगेका नेपाली महिलालाई सकेसम्म उनीहरूले स्वदेश फर्कन नदिने गरेको स्रोतले जनाएको छ। घर फर्किन्छु भन्ने महिलालाई मालिकहरूले 'किन जानुपर्यो, यहाँ कुनै खतरा छैन, केही भए मसँगै सुरक्षित ठाउँमा लैजान्छु' भन्ने गरेका छन्।
'इराकमा कार्यरत नेपाली महिला बेचिने गरे पनि उनीहरूमाथि दुर्व्यवहार भएको भने खासै सुनिएको छैन। बग्दादका केहीले आफूमाथि शारीरिक शोषणसमेत भएको बताए पनि बाहिरका सहरमा यो शून्य अवस्थामा छ,' स्रोतले भन्यो।
उद्धारका लागि इराकमा खटिएका प्रतिनिधिले यस्ता महिला कहाँ–कहाँ छन् पहिचान गरेर उद्धारका लागि पहल सुरु गर्ने परराष्ट्रस्रोतले जनाएको छ।
प्रकाशित: ३२ असार २०७१ २१:४६ बुधबार